April 15, 2026, Wednesday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

नागरिक एपमा अब जन्म–विवाह दर्ता पनि: पञ्जीकरण सेवा एकीकृत हुँदै

बैशाख २, २०८३

30

सरकारले राष्ट्रिय पञ्जीकरणसँग सम्बन्धित सेवाहरूलाई डिजिटल माध्यममा ल्याउँदै नागरिक एप मा एकीकृत गर्ने प्रक्रिया अघि बढाएको छ। अब जन्म दर्ता, विवाह दर्ता तथा सम्बन्धविच्छेद दर्ताजस्ता सेवाहरू पनि यही एपमार्फत उपलब्ध गराउने तयारी भइरहेको छ।

सूचना प्रविधि विभागका महानिर्देशक श्रीचन्द्र साह का अनुसार पञ्जीकरणसम्बन्धी सबै तथ्याङ्कलाई एकीकृत प्रणालीमा आबद्ध गर्ने काम सुरु भइसकेको छ। केही समयभित्रै तथ्याङ्क एकीकरण सम्पन्न गरी सम्बन्धित प्रमाणपत्रहरू नागरिक एपमै उपलब्ध गराइनेछ।

डिजिटल सुशासनलाई सुदृढ बनाउने लक्ष्यसहित सरकारले पछिल्लो समय नागरिक सेवाहरूलाई अनलाइनमार्फत उपलब्ध गराउने अभियानलाई तीव्र बनाएको छ। यसअन्तर्गत निजामती कर्मचारीहरूको व्यक्तिगत विवरण, लोक सेवा आयोग का परीक्षार्थीहरूको प्रवेशपत्र तथा वैदेशिक अध्ययनका लागि आवश्यक ‘नो अब्जेक्शन सर्टिफिकेट’ पनि एपमार्फत उपलब्ध गराउने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाइएको छ।

हाल भने नागरिक एप मार्फत प्रहरी चारित्रिक प्रमाणपत्र डाउनलोड गर्ने सुविधा सञ्चालनमा आइसकेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालय को कार्ययोजनाअनुसार थप सेवाहरू आगामी ४५ दिनभित्र सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।

भर्खरै