आजको एकता सभालाई नयाँ शक्ति, प्रगतिशील धार र वैकल्पिक लोकतान्त्रिक विचारधारालाई एकै ठाउँमा ल्याउने प्रयोगका रूपमा हेर्न थालिएको छ।


काठमाडौँमा नयाँ वाम–लोकतान्त्रिक मोर्चाको प्रारम्भिक झल्को दिने गरी आज तीन राजनीतिक धारा एकै मञ्चमा उभिँदै छन्। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, माओवादीका पूर्व उपमहासचिव जनार्दन शर्मा र सन्तोष परियार नेतृत्वको समूहले संयुक्त रूपमा एकता घोषणा सभा आयोजना गर्न लागेका हुन्।
दिउँसो १२ः३० बजे राष्ट्रिय सभागृहमा तय गरिएको कार्यक्रममा अध्यक्षता सन्तोष परियारले गर्नेछन्। तीन पक्षबीच कात्तिक २८ गते हस्ताक्षर भएको एकता सहमतिलाई आजको सभाले औपचारिक रूपले सार्वजनिक गर्दैछ।
एकता घोषणापछि गठन हुने पार्टीमा सीमित संख्याको अध्यक्ष परिषद् रहनेछ। समायोजनपछि पार्टीको नाम ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ हुने पक्का भएको छ। नयाँ पार्टीका संरक्षक पूर्वप्रधानमन्त्री भट्टराई हुनेछन् भने जनार्दन शर्मा कार्यकारी नेतृत्वमा उत्रने तयारीमा छन्।
पार्टीले आँखा चुनाव चिह्न अपनाउने जनाएको छ। दलको नाम दुर्गा सोबकै नाममा निर्वाचन आयोगमा दर्ता भइसकेकाले औपचारिकतामा कुनै जटिलता नरहेको नेतृत्वको दाबी छ।






