February 11, 2026, Wednesday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

लुम्बिनी लायन्स एनपीएल सिजन–२ को च्याम्पियन

मंसिर २७, २०८२

245

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनी लायन्सले जितेको छ। शनिबार त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले उपाधि हात पारेको हो।

८६ रनको सामान्य लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो। लुम्बिनीको जितमा ओपनर दिनेश अधिकारीले सर्वाधिक ४२ रनको योगदान दिए। उनले १३ बलमा आक्रामक ब्याटिङ गर्दै दर्शकलाई रोमाञ्चित बनाए।

अन्य ब्याटरमध्ये डार्सी सर्ट १३, कप्तान रोहित पौडेल १८ र सन्दीप जोरा शून्य रनमा आउट भए। निरोशन डिक्वेला ११ र दिलिप नाथ एक रनमा अविजित रहे।

सुदूरपश्चिम रोयल्सका लागि बलिङतर्फ हेमन्त धामीले २ विकेट लिए भने अभिनास बोहरा र कप्तान दीपेन्द्रसिंह ऐरीले समान १–१ विकेट हात पारे।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्स १९ ओभर १ बलमा ८५ रनमा अलआउट भएको थियो। सुदूरपश्चिमका लागि ओपनर इसान पाण्डेले सर्वाधिक ३३ रन बनाए।

अन्य ब्याटरहरूमा विनोद भण्डारी शून्य, शेल्डोन ज्याकसन १, आरिफ शेख ६, कप्तान दीपेन्द्रसिंह ऐरी १३, दीपक बोहरा शून्य, पुनित महरा शून्य, अभिनास बोहरा १, हर्मित सिंह १० र स्कट कुगेइलेन १० रनमा आउट भए। हेमन्त धामी ७ रनमा अविजित रहे।

लुम्बिनीको बलिङतर्फ कप्तान रोहित पौडेलले ह्याट्रिक पूरा गर्दै ऐतिहासिक प्रदर्शन गरे। रोहित एनपीएल इतिहासमा ह्याट्रिक गर्ने दोस्रो खेलाडी बनेका छन्। यसअघि काठमाडौँ गोर्खाजका शाहब आलमले ह्याट्रिक लिएका थिए। रोहितले ११औँ ओभरको चौथो, पाँचौँ र छैटौँ बलमा लगातार विकेट लिएका हुन्।

त्यस्तै शेर मल्ल र रुवेन ट्रम्पलम्यानले समान ३–३ विकेट लिए भने तिलक भण्डारीले १ विकेट हात पारे।

भर्खरै