


काठमाडौं । नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दै जाँदा निगमलाई ठूलो आर्थिक भार परेको जनाउँदै नयाँ मूल्य समायोजन गरिएको हो।
नयाँ दरअनुसार पेट्रोलमा प्रति लिटर १७ रुपैयाँ र डिजेल/मट्टितेलमा २५ रुपैयाँ वृद्धि गरिएको छ। अब पेट्रोलको मूल्य विभिन्न क्षेत्रमा २१६.५० देखि २१९ रुपैयाँसम्म पुगेको छ भने डिजेल/मट्टितेलको मूल्य २०४.५० देखि २०७ रुपैयाँसम्म कायम गरिएको छ।
निगमका अनुसार भन्सार महसुल र पूर्वाधार विकास कर समायोजनपछि पनि पाक्षिक रूपमा करिब १० अर्ब २१ करोड ९१ लाख रुपैयाँ घाटा हुने अवस्था रहेको छ। हाल पेट्रोलमा प्रति लिटर १६.६५ रुपैयाँ, डिजेलमा १०९.५० रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिन्डर ४१६.३७ रुपैयाँ घाटा रहेको जनाएको छ।
यस्तै, घाटा निरन्तर बढेमा इण्डियन आयल कर्पोरेशन लाई गर्ने भुक्तानीमा असर पर्न सक्ने र इन्धन आपूर्तिमा समस्या आउन सक्ने भन्दै निगमले पूर्ण लागतअनुसार नभई आंशिक मूल्य वृद्धि गरेको स्पष्ट पारेको छ।
नयाँ समायोजनअनुसार १४.२ केजी एलपी ग्यासको मूल्य २०१० रुपैयाँ पुगेको छ भने हवाई इन्धन (आन्तरिक) पनि प्रति लिटर ६ रुपैयाँले बढाइएको छ।
मूल्य वृद्धि पश्चात् पनि निगमलाई अझै करिब ७ अर्ब ८१ करोड रुपैयाँ घाटा हुने अनुमान गरिएको छ। निगमले उपभोक्तालाई इन्धनको मितव्ययी प्रयोग गर्न आग्रह गर्दै आपूर्ति व्यवस्थापनमा चुनौती आउन सक्ने चेतावनी दिएको छ।











