April 18, 2026, Saturday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

बर्ड फ्लू प्रभाव रोक्न सीमामा कडाइ

चैत्र १६, २०८२

80

खुला सीमा रहेको बाँकेको नेपालगञ्जलगायत स्थानमा बर्ड फ्लूको जोखिम देखिएपछि यहाँ उच्च सर्तकता अपनाइएको छ ।

जिल्लासँग जोडिएका नाकाबाट अवैध रूपमा भारतबाट ल्याउन लागिएका चल्ला दैनिकजसो नष्ट गरिएको पशु क्वारेन्टाइन कार्यालय, बाँकेका प्रमुख डा हरेराम यादवले जानकारी दिनुभयो । उहाँले यस क्षेत्रमा बर्ड फ्लू नदेखिएको उल्लेख गर्दै कुखुराका चल्ला र सेतो अण्डा ल्याउन रोक लगाइएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “खुला सीमा क्षेत्रका कुखुराका चल्ला र अण्डा ल्याउँछन् तर प्रहरी देखेपछि छाडेर भाग्छन् ।” सरकारले भारतबाट कुखुराका चल्ला वा सेतो अण्डा नेपाल ल्याउन प्रतिबन्ध लगाएको छ ।

डा यादवले आन्तरिक ढुवानीमा कडाइ र निगरानी गरिएको जानकारी दिँदै कुखुराको आयात निर्यातमा कडाइ गरिएको बताउनुभयो । पशु क्वारेन्टाइन कार्यालयका अनुसार जिल्लामा करिब २० देखि २५ थान ब्रोइलर भारतीय कुखुरा दैनिक रूपमा नष्ट गरिएको छ ।

उहाँले भन्नुभयो, “हामीलाई विभागबाट स्पष्ट निर्देशन आएको छ र हामी सचेत छौँ । तराईसँग खुला सीमा जोडिएका जिल्लामा बर्ड फ्लूको जोखिम देखिएको छ ।” नियमित रूपमा कार्यालयबाट हुने जनचेतानमूलक कार्यक्रम भइरहेको डा यादवको भनाइ छ ।

भेटरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, नेपालगञ्जका वरिष्ठ पशु विकास अधिकृत डा गणेशबहादुर पुनले चल्ला आयातमा उच्च सर्तकता अपनाएको बताउनुभयो । जिल्लामा सुइया, बगौँडा, खडैँचा, जमूनाह नाकालगायत विभिन्न क्षेत्र खुला सीमा नाका रहेका छन् । रासस

भर्खरै