April 18, 2026, Saturday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीद्वारा अस्वीकार

चैत्र ३, २०८२

80

इरानका नयाँ सर्वोच्च नेता आयतुल्ला मोज्तबा खामेनीले अमेरिकासँगको तनाव कम गर्ने वा युद्धविराम गर्ने प्रस्तावहरू अस्वीकार गरेका छन् । रोयटर्सलाई एक वरिष्ठ इरानी अधिकारीले दिएको जानकारी अनुसार दुई मध्यस्थ देशमार्फत तेहरान पठाइएका प्रस्तावहरूलाई खामेनेईले स्पष्ट रूपमा अस्वीकार गरेका हुन् ।

ती अधिकारीका अनुसार आफ्नो पहिलो विदेश नीति बैठकमै खामेनेईको धारणा कडा र प्रतिशोधात्मक थियो । उनले अमेरिका र इजरायलविरुद्ध बदला लिनुपर्ने अडान लिएको बताइएको छ । यद्यपि उनी उक्त बैठकमा प्रत्यक्ष सहभागी थिए वा थिएनन भन्ने स्पष्ट गरिएको छैन ।

 

इरानमा अमेरिका र इजरायलको युद्ध तेस्रो हप्तामा प्रवेश गरिसकेको छ । दुई पक्षीय आक्रमणमा हालसम्म कम्तीमा २ हजार जनाको मृत्यु भइसकेको अनुमान गरिएको छ । तर युद्ध अन्त्य हुने कुनै संकेत देखिएको छैन । यसैबीच, विश्वका लागि अत्यन्त महत्त्वपूर्ण समुद्री मार्ग स्ट्रेट अफ हर्मुज अझै पनि ठप्पप्रायः अवस्थामा छ । यसले ऊर्जा आपूर्ति प्रभावित भएर विश्वभर तेलको मूल्य वृद्धि र महँगी बढ्ने चिन्ता बढेको छ ।

अहिले शान्तिको समय नभएको भन्दै इरानी सर्वोच्च नेताले अमेरिका र इजरायलले पराजय स्वीकार्नुपर्ने तथा क्षतिपूर्ति तिर्नुपर्ने सर्त अघि सारेका छन् । उता डोनल्ड ट्रम्पको प्रशासनले पनि पश्चिम एशियाका हयोगी राष्ट्रहरूले अघि सारेका कूटनीतिक पहलहरूलाई अस्वीकार गरेको बताइएको छ ।

यसले वार्ताको सम्भावना अझै कमजोर बनाएको छ । विश्लेषकहरूका अनुसार दुबै पक्षको कठोर अडानले द्वन्द्व अझ लम्बिने संकेत दिएको छ । यसको प्रभाव केवल मध्यपूर्वमै सीमित नभई विश्व अर्थतन्त्र, ऊर्जा आपूर्ति र सुरक्षा अवस्थामै गम्भीर असर पार्ने देखिएको छ । एजेन्सी

भर्खरै