April 18, 2026, Saturday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

धादिङको पहिचान झल्काउने दशौँ महोत्सव -२०८२ सुरु

माघ १७, २०८२

225

धादिङ । धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन, जलस्रोत तथा उद्योगको पूर्वाधार’ भन्ने नाराका साथ धादिङ उद्योग वाणिज्य संघको आयोजनामा दशौँ धादिङ महोत्सव–२०८२ बिहीबारदेखि सुरु भएको छ।

महोत्सवको उद्घाटनसँगै धादिङमा बसोबास गर्ने विभिन्न जातजातिका समुदायले आफ्नो मौलिक संस्कृति झल्किने नाच तथा झाँकी प्रदर्शन गरेका छन्। जिल्लाको उत्तरी क्षेत्र रुवीभ्यालीका तामाङ समुदायले घोडचढी नाच प्रस्तुत गर्दा दक्षिणी धादिङका चेपाङ समुदायले आकर्षक झाँकी प्रदर्शन गरेका थिए।

त्यस्तै, नेवार समुदायले लाखे तथा टाकटुके नाच, कुमाल समुदायले कौरा नाच तथा पञ्चे बाजालगायत धादिङको पहिचान बोकेका विविध सांस्कृतिक प्रस्तुतिले दर्शकको ध्यान आकर्षित गरेको छ।

महोत्सवको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्नुभएको हो।

धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार डल्लाकोटीका अनुसार महोत्सव अवधिभर दैनिक रूपमा राष्ट्रियस्तरका कलाकारको उपस्थितिमा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ। महोत्सव माघ २५ गतेसम्म सञ्चालन हुनेछ।

महोत्सवमा ज्येष्ठ नागरिकका लागि प्रवेश शुल्क नलाग्ने, विद्यार्थीका लागि ७० रुपैयाँ र सर्वसाधारणका लागि १०० रुपैयाँ टिकट दर तोकिएको डल्लाकोटीले जानकारी दिए। आयोजकका अनुसार करिब तीन लाख दर्शकले महोत्सव अवलोकन गर्ने अपेक्षा गरिएको छ।

भर्खरै