February 11, 2026, Wednesday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

बेमौसमी वर्षाले मोरङमा धान उत्पादन घट्यो, किसान चिन्तित

मंसिर २८, २०८२

155

मोरङ । बेमौसमी वर्षाका कारण यस वर्ष मोरङ जिल्लामा धान उत्पादन घटेको छ। धान उत्पादनका लागि देशकै प्रमुख जिल्लामध्ये एक मानिने मोरङमा गत वर्षको तुलनामा यस वर्ष दुई हजार ८४ मेट्रिक टनले उत्पादन घटेको हो।

मोरङस्थित कृषि ज्ञान केन्द्रकी प्रमुख दीपा देवका अनुसार कात्तिक दोस्रो सातामा परेको बेमौसमी वर्षाले पाकिरहेको धानमा क्षति पुर्‍याउँदा उत्पादन घटेको अनुमान गरिएको छ। उनका अनुसार गत वर्ष जिल्लामा तीन लाख ३९ हजार तीन दशमलव ४५ मेट्रिक टन धान उत्पादन भएको थियो भने यस वर्ष तीन लाख ३६ हजार ९१९ दशमलव ४१ मेट्रिक टनमा सीमित भएको छ।

उत्पादन घटेसँगै प्रतिहेक्टर उत्पादनमा समेत कमी आएको छ। गत वर्ष प्रतिहेक्टर चार दशमलव ८८ मेट्रिक टन उत्पादन भएकामा यस वर्ष चार दशमलव ८५ मेट्रिक टन मात्र उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। यस वर्ष जिल्लामा ६९ हजार ४६७ दशमलव ९२ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको तथ्याङ्क छ।

कृषिविज्ञ राजेन्द्र उप्रेतीका अनुसार खेतीयोग्य जमिन आसपासका खोलानाला मासिँदै जाँदा पानीको निकास हुन नसकेको र त्यसकै कारण पाकेको धानमा बढी क्षति पुगेर उत्पादन घटेको हुन सक्ने अनुमान गरिएको छ। उनले यस वर्ष धान उत्पादन राम्रो भए पनि थन्क्याउने समयमा परेको बेमौसमी वर्षाले असर पारेको बताए।

धान उत्पादनमा क्षति पुगेसँगै किसानहरू मूल्य घटेकोमा समेत चिन्तित छन्। बेलबारी–११ भाङबारीका किसान वीरेन्द्र खत्रीले करिब छ बिघा जमिनमा लगाएको धानखेतीमा बेमौसमी वर्षाका कारण करिब ९० मन धान क्षति भएको बताए। उनका अनुसार यस वर्ष धानको बजार मूल्य प्रतिमन एक हजार २०० देखि एक हजार ३०० रुपैयाँसम्म रहेको छ।

गत वर्ष मङ्सिर महिनामा धानको बजार मूल्य प्रतिमन एक हजार ७०० देखि एक हजार ८०० रुपैयाँसम्म रहेको स्मरण गर्दै खत्रीले यस वर्ष उत्पादन र मूल्य दुवैमा गिरावट आएकाले किसान थप मारमा परेको बताए।

भर्खरै