


काभ्रेपलाञ्चोकस्थित अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक-धुलिखेल सडकखण्डअन्तर्गतको जनागाल-भैँसेपाटीमा कालोपत्र सुरु गरिएको छ । वर्षाका कारण रोकिएको उक्त सडकखण्डमा बनेपा नगरपालिका-१० स्थित जनागाल क्षेत्रमा कालोपत्र सुरु गरिएको हो ।
भदौमा ‘सिसटीबी’को काम सकेर कालोपत्र सुरु गरिएको सूर्यविनायक-धुलिखेल, धुलिखेल-सिन्धुली-बर्दिबास सडक आयोजनाले जनाएको छ । यसअघि असार र साउनमा मनसुनका कारण विस्तार रोकिएको थियो । जनागालबाट भैँसेपाटीतर्फ कालोपत्र सुरु गरिएको आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालले बताउनुभयो । उहाँका अनुसार साँगातर्फ ‘सिटिबी’को काम भएपछि लगातार कालापत्रलाई निरन्तरता दिइनेछ ।
बनेपाको पुलबजार क्षेत्रमा भने करिब ६ महिनादेखि स्थानीयको अवरोधका कारण काम ठप्प छ । उक्त क्षेत्रको करिब २०० मिटर क्षेत्रमा ‘सेन्टर लाइन’को विषयलाई लिएर स्थानीयले अवरोध जनाएपछि विस्तार रोकिएको हो । बाटोको बीचबाट दुवैतर्फ ७५ फिटका दरले ९१५० फिट०मध्ये पनि १४० फिटमा काम भइरहेकामा स्थानीयले दुवैतर्फका घरमा बराबर छुट्याउनुपर्ने विषयमा विवाद निकालेर निर्माण अवरुद्ध पारेको जनाइएको छ ।
हाल बनेपाको पूर्वीतर्फको चण्डेश्वरी खोलादेखि बनेपा चारदोबाटोसम्म करिब एक किमी सडकमा ढल निर्माण भइरहेको छ । पुलबजारबाहेकको सूर्यविनायकदेखि धुलिखेलसम्मको अन्य स्थानमा भने छोटो खण्ड-खण्डमा काम भइरहेको खनालले बताउनुभयो । हाल एक किमी क्षेत्रमा सडक पक्की बनाइनाका साथै वाल, ड्रेन, पेवमेन्टको काम सकिएको छभने केही दिनमा नै बनेपातर्फको सडक कालोपत्रको तयारी भइरहेको छ ।
साथै अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक छ लेनमा विस्तार समयमा नै नसकिने भएको छ । आयोजनाले बाँकी करिब चार महिनामा विस्तार नसकिने जनाएको हो ।
विसं २०७९ पुस २४ देखि सुरु गरिएको १६ किलोमिटर लम्बाइको यस सडक ३६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । उक्त सडकखण्ड सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्म गरी दुई खण्डमा विभाजन गरी सोही अनुसार ठेक्का सम्झौता भई विस्तार भइरहेको छ ।
हाल दुई खण्डमध्ये सूर्यविनायक–साँगा खण्डको ४० प्रतिशत र साँगा–धुलिखेल खण्डमा ५० प्रतिशत काम सकिएको खनालले जानकारी दिनुभयो । साँगा–धुलिखेल खण्डमा बनेपाको सहरी क्षेत्रमा पुललगायत व्यक्तिगत घरको विवाद तथा मापदण्डभित्रका घर भत्काउन नसक्दा ढिलाइ भएको र समयसीमासम्म करिब ६५ प्रतिशत भौतिक निर्माणको काम हुने जनाइएको छ ।
उक्त आयोजनाअन्तर्गत पहिलो चरणमा साँगादेखि धुलिखेल आठ दशमलव चार किमी सडकखण्ड विस्तारका लागि पहिलो चरणमा साँगा-धुलिखेलका लागि रु चार अर्ब पाँच करोड ६४ लाख तथा दोस्रो चरणमा सुरु भएको सूर्यविनायक-साँगा सडकखण्ड रु तीन अर्ब ८८ करोड ९३ लाखमा सम्झौता भएको थियो ।











