March 11, 2026, Wednesday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

प्रधानसेनापति सिग्देल थाइल्याण्ड सोमबार (९ भदौ) जानुहुँदै

भदौ ८, २०८२

430

प्रधानसेनापति अशोकराज सिग्देलले थाइल्याण्डको हुआ हिनमा आयोजना हुने रक्षा प्रमुख सम्मेलनमा भाग लिन जानुहुनेभएको छ ।

शाही थाई सशस्त्र बलको सहकार्यमा अमेरिकी सेनाको इण्डो-प्यासिफिक कमाण्डद्वारा यही भदौ १० देखि १२ गतेसम्म हुने उक्त सम्मेलनमा भाग लिन उहाँ सोमबार (९ भदौ) त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

विसं २०५६ देखि वार्षिक रूपमा सञ्चालन हुँदै आएको उक्त सम्मेलनमा नेपाली सेनाले निरन्तर सहभागिता जनाउँदै आएको छ । सम्मेलनमा सहभागी राष्ट्रका सेना प्रमुखबीच अन्तरराष्ट्रिय सुरक्षा वातावरण, प्रविधि, रणनीतिक सोचलगायत समसामयिक विषयमा छलफल, अन्तरक्रिया तथा विचार आदानप्रदान हुने निर्देशनालयले जनाएको छ ।

सहभागी राष्ट्रका सेना र नेपाली सेनाबीच आपसी सैनिक सम्बन्ध विस्तार भइ सैनिक कूटनीतिमार्फत नेपालको परराष्ट्र नीतिलाई सकारात्मक योगदान पुग्ने नेपाली सेनाले विश्वास लिएको छ ।

प्रधानसेनापति सिग्देललाई थाइल्याण्ड प्रस्थान गर्नुपूर्व आइतबार नेपाली सेनाको एक टुकडीले जङ्गी अड्डामा सम्मान गारत अर्पण गरेको पनि निर्देशनालयद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

प्रधानसेनापति सिग्देलको अनुपस्थितिमा बलाधिकृत रथी निर्मलकुमार थापाले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नुहुनेछ ।

भर्खरै