


मार्फा-जोमसोम सडक (मुस्ताङ) धमाधम कालोपत्र भइरहेको छ । लामो समय रोकिएको कालोपत्र कार्य गत हप्तादेखि सुरु गरिएको हो ।
उत्तर र दक्षिण जोड्ने राष्ट्रिय गौरवको सडकअन्तर्गत ७४ किलोमिटर लामो बेनी-जोमसोम सडक कालोपत्र गर्न आर्थिक वर्ष २०७३/७४ मा ठेक्का सम्झौता भएको थियो । रु ७० करोडको लागतमा कोवाङ-मार्फा १७ किमी सडक कालोपत्र गर्न सम्झौता भएको थियो । कोवाङ-जोमसोम सडकको ९० प्रतिशत भौतिक प्रगती सम्पन्न हुँदै गर्दा निर्माणमा संलग्न कम्पनीले काम अधुरुे छाडेको थियो ।
बेनी-जोमसोम चौथो खण्डको कोवाङ-जोमसोम सडक निर्माणका लागि सुरुआती ठेक्का पप्पु-गौरी पार्वती, कोशी एण्ड न्यौपाने जेभीसँग सम्झौता भएको थियो । तर, सो कम्पनीले सडक निर्माणको काम प्रभावकारी रुपमा अघि बढाउन नसकेपछि काम अधुरै थियो । तर, निर्माण कम्पनी चालु आर्थिक वर्ष सकिन लाग्दा कोवाङ-जोमसोम सडक निर्माणको काममा फर्किएको हो । आयोजनाका सूचना अधिकारी विष्णु चापागाईले कोवाङ-जोमसोम सडकको हालसम्म भौतिक प्रगती ९० प्रतिशत रहेको बताउनुभयो । हालसम्म कोवाङदेखि टुकुचे र टुकुचे सिरान टोलदेखि मार्फासम्म कालोपत्र सम्पन्न भएको उहाँले बताउनुभयो । जोमसोम कालिपुलदेखि पुथाङ विमानस्थलसम्म आरसीसी तथा कालोपत्र भएको छ ।
कोवाङ-जोमसोम सडकखण्डको बाँकी (मार्फा-जोमसोम) चार किमी सडक पनि कालोपत्र गर्न थालिएको छ । राष्ट्रिय गौरवको (मार्फा-जोमसोम) सडक अधुरै रहँदा जनताबाट आलोचना खेप्नु परेको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले बताउनुभयो । मार्फा-जोमसोम सडक कालोपत्र भए मुस्ताङको घाँसादेखि मुक्तिनाथसम्म सडक सञ्जालले जोडिने छ ।











