April 18, 2026, Saturday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

पाकिस्तानमा जेलबाट २०० भन्दा बढी कैदी फरार

जेष्ठ २०, २०८२

890

पाकिस्तानको विशाल तटीय शहर कराँचीस्थित एक जेलबाट भूकम्पका क्रमिक धक्का आएपछि २०० भन्दा बढी कैदी फरार भएका छन् ।

कुल २१६ जना फरार कैदीमध्ये करिब ८७ जनालाई पक्राउ गरिएको र बाँकी अझै फरार रहेको सिन्ध प्रान्तका सूचना मन्त्री शर्जील इनाम मेमनले जनाएका छन् ।

जेलबाट भाग्ने क्रममा एक कैदीको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्, जसमा केही सुरक्षाकर्मीसमेत छन् । घटना स्थानीय समयअनुसार मंगलबार (३ जुन) बिहान करिब १ः३० बजे भएको हो ।

भूकम्पको कारण कैदीहरूमा त्रास फैलिएको मेमनको भनाइ छ । घटनापछि प्रान्तीय सरकारको जेलसेवा प्रमुखलाई पदबाट हटाइएको उनले जानकारी दिएका छन् ।

पाकिस्तानका जेलहरू प्रायः भीडभाड, खराब अवस्था, भ्रष्टाचार र मानवअधिकार उल्लङ्घनका कारण बदनाम छन् । साथै, न्यायिक प्रक्रिया ढिलो हुने भएकाले कैदीहरू लामो समयसम्म थुनामा बस्न बाध्य हुने गरेको बताइएको छ ।

सिन्ध मौसम विज्ञान कार्यालयका कार्यकारी प्रमुख आमिर हैदर लघारीले कराँचीमा पछिल्ला तीन दिनमा २० भन्दा बढी भूकम्पका धक्का मापन गरिएको जानकारी दिएका एएफपीले जनाएको छ ।

भर्खरै