May 18, 2024, Saturday
२०८१ जेष्ठ ५Nepal 1:37:26 pm
Trending
शुभखबर संवाददाता

होटल क्षेत्रलाई उद्योगको मान्यता दिलाउन पहल गर्छु: पर्यटनमन्त्री

२०८० चैत्र २२

295

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री हितबहादुर तामाङले पर्यटनको महत्वपूर्ण पाटो होटल क्षेत्रलाई उद्योगको मान्यता दिलाउन पहल गर्ने बताउनुभएको छ ।

होटल सङ्घले सातै प्रदेशका चाडपर्व, उत्सव तथा जात्रालाई समेटेर तयार पारेको पात्रो सार्वजनिक गर्दै उहाँले होटल क्षेत्रको विकास र विस्तारका लागि होटललाई उद्योगका रुपमा मान्यता दिलाउन लागि पर्ने विश्वास व्यक्त गर्नुभयो ।

व्यवसायीले होटल क्षेत्रमा ठूलो लगानी भएकाले यो क्षेत्रलाई उद्योगको रुपमा कानुनी मान्यता दिलाउन माग गर्दै आएका छन् । पर्यटनमन्त्री तामाङले चाडपर्व तथा जात्रा लक्षित पात्रोको माध्यमबाट मुलुकको पर्यटन प्रवर्द्धन हुनुका साथै विदेशी पर्यटक आकर्षण गर्ने उपयुक्त माध्यम भएको बताउनुभयो । उहाँले आतिथ्यता सम्बन्धी ‘क्लाउडवेस इ–लर्निङ’ तालिम कोर्षहरु पनि अपलोड गरी शुभारम्भ गर्नुभयो । यस कोर्षबाट दूरदराजमा रहेका साना तथा मझौला होटलमा कार्यरत कामदार तथा कर्मचारीलाई दक्षता र सीप विकास गराउन सघाउ पुग्ने उहाँले बताउनुभयो ।

सो अवसरमा होटल सङ्घ नेपालका अध्यक्ष विनायक शाहले अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपालको चाडपर्व तथा जात्राबारे विदेशीले जानकारी लिने गरेकोले पात्रो प्रकाशित गरेको बताउनुभयो । उहाँले स्वदेशी तथा विदेशी प्रतिष्ठित टूरअपरेटरका साथै गैरआवासीय नेपाली सङ्गठन तथा विदेशस्थित नेपाली नियोगमार्फत् पनि वितरण गरी पर्यटन प्रवर्द्धन गरिने विश्वास व्यक्त गर्नुभयो । रासस