April 18, 2026, Saturday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई तिहाड जेल पुर्‍याइयो

चैत्र १९, २०८०

1.6K

मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई आज ईडीको हिरासतबाट तिहाड जेलमा सारिएको छ । जिल्ला अदालतले थप १५ दिन न्यायिक हिरासतमा राख्न आदेश दिएपछि उनलाई तिहाड जेल पुर्याइएको हो ।

गत मार्च २१ मा पक्राउ परेयता उनी प्रवर्तन निर्देशनालय (ईडी) को हिरासतमा रहँदै आएका थिए । दिल्लीको राउज एभेन्यु डिस्ट्रिक्ट कोर्टले आजै केजरीवाललाई अप्रिल १५ सम्म हिरासतमा राख्न आदेश दिएको हो । यसअघि ईडीले दुईपटक हिरासतको म्याद थप गराइसकेको थियो ।

अदालतले न्यायिक हिरासतमा पठाउने आदेश सुनाएपछि केजरीवालले जेलमा अध्ययनका लागि आफूलाई भगवद्‍गीता, रामायण र पत्रकार निरजा चौधरीद्वारा लिखित ‘हाउ प्राइम मिनिस्टर्स डिसाइड’ नामक पुस्तक उपलब्ध गराउन आग्रह गरेका थिए ।

गत मार्च २१ को राति ईडीले केजरीवाललाई उनकै निवासबाट पक्राउ गरेको थियो । दिल्लीको मदिरा नीति घोटाला प्रकरणमा करिब एक सय करोड भारतीय रुपैयाँ भ्रष्टाचार भएको आरोप उनलाई लगाइएको छ । लोकसभा चुनावको मुखैमा विपक्षी एनडीए गठबन्धनको एक प्रमुख घटक तथा आमआदमी पार्टीका राष्ट्रिय संयोजकसमेत रहेका केजरीवाललाई गिरफ्तार गरिनुलाई राजनीतिक हिसाबले अर्थपूर्ण मानिएको छ ।

भारतमा बहालवाला मुख्यमन्त्रीलाई गिरफ्तार गरिएको यो पहिलोपटक हो । केही समयअघि ईडीले झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनलाई पक्राउ गरेको थियो । तर, उनले गिरफ्तारीअघि नै पदबाट राजीनामा दिएका थिए । गिरफ्तारीमा परे पनि कानुनमा पदमुक्त हुने वा राजीनामा दिनै पर्ने बाध्यात्मक व्यवस्था नभएका कारण केजरीवालले जेलभित्रैबाट सरकार चलाइरहेका छन् । विपक्षी भाजपाले भने उनले मुख्यमन्त्रीको पदबाट राजीनामा दिनुपर्ने माग गर्दै आएको छ ।

भर्खरै