May 18, 2024, Saturday
२०८१ जेष्ठ ५Nepal 1:37:26 pm
Trending
शुभखबर संवाददाता

नागढुङ्गा– नौविसे सुरुङमार्ग छिचोल्न आठ मिटर मात्र बाँकी

२०८० चैत्र १६

385

नागढुङ्गा– नौविसे– सिस्नेखोला सुरुङमार्ग आयोजनाको सुरुङ खन्न आठ मिटर मात्र बाँकी छ । अहिले दैनिक सरदर एक मिटरका दरले सुरुङ खन्ने काम भइरहेको छ तर कहिले छिचोलिने भन्ने तय भने भएको छैन ।

आयोजनाले फागुन २३ गते सुरुङ छिचोल्ने लक्ष्य लिएको थियो । १४ मिटर खन्न बाँकी रहेको अवस्थामा स्थानीयको अवरोधका कारण गत फागुन ६ गतेदेखि काम रोकिएको थियो । यही चैत ६ गतेदेखि पुनः सुरु खन्ने काम सुरु भएको हो ।

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाका इन्जिनियर रमेश कोइरालाले अहिले दैनिक करिब एक मिटर जति सुरुङ खन्ने काम भइरहेको र कुनै बाधा अवरोध नभए केही दिनभित्रै सुरुङ खन्ने काम सम्पन्न हुन सक्ने बताउनुभयो । इन्जिनियर कोइरालाले सुरुङ खन्ने काम तीव्र गतिमा भइरहे पनि सुरुङ छिचोल्न केही दिन ढिला हुन सक्ने बताउनुभयो ।

यसअघि साउन २३ गते आपत्कालीन सुरुङ छिचोलिएको थियो । आपत्कालीन सुरुङको लम्बाइ दुई हजार ५५७ मिटर र मुख्य सुरुङको लम्बाइ दुई हजार ६८८ मिटर छ । २०७६ कात्तिक ४ गते आयोजनाको शिलान्यास गरिएको थियो ।

छिचोलिएपछि सुरुङ सञ्चालनमा ल्याउन कम्तीमा १३ महिना लाग्ने इन्जिनियर कोइरालाले जानकारी दिनुभयो । आयोजना अन्तर्गत सुरुङबाहेक विभिन्न १२ वटा संरचना निर्माणाधीन छन् । ती संरचनाको निर्माण सम्पन्न हुन अझै एक वर्ष लाग्ने सम्भावना छ । यस आयोजना अन्तर्गत सुरुङबाहेक फ्लाइओभर, अन्डरपास, ओभरपास, पुल, बक्स कल्भर्ट गरी १२ वटा थप संरचना निर्माण भइरहेका छन् ।