May 17, 2024, Friday
२०८१ जेष्ठ ४Nepal 1:37:26 pm
Trending
शुभखबर संवाददाता

बोझेनीमा जबरजस्ती क्याम्प खडा गर्न खोज्दा प्रहरी र स्थानीयबिच झडप

२०८० मंसिर २

6.9K

काठमाडौंः काठमाडौंको शंखरापुर नगरपालिका ३ स्थित बोझेनीमा प्रहरी र स्थानीय बासिन्दाबिच झडप भएको छ। शुक्रबार बेलुकी बोझेनीस्थित सब -स्टेशन निर्माण स्थलमा उक्त झडप भएको हो । अप्पर तामाकोसी जलविद्युत परियोजना पीडित संघर्ष समितिका अध्यक्ष रणजीत वाइबाका अनुसार झडपमा परी ६ जना स्थानीय र १ जना प्रहरी घाइते भएका छन् भने ४ जना स्थानीयलाई पक्राउ गरी हिरासतमा राखिएको छ ।

उनका अनुसार घाइते हुनेहरुमा सचिव तामाङ,मान बहादुर तामाङ,सञ्चिमाया तामाङ,तिउरी तामाङ,फुर्साङ तामाङ र मनोज तामाङ रहेका छन् । त्यस्तै पक्राउ पर्नेमा जयमान वाइबा,हर्कमान वाइबा,सुक बहादुर वाइबा र सुर्यमान तामाङ रहेका छन् । पक्राउ परेकाहरुलाई अहिले बौद्धस्थित महानगरीय प्रहरी वृत्तमा राखिएको छ ।

शुक्रबार बेलुकी सशस्त्र प्रहरीको अस्थायी क्याम्प स्थापना गर्नका लागि शसस्त्र प्रहरी र नेपाल प्रहरीको जम्बो टोली बोझेनी सब -स्टेशन निर्माण स्थलमा पुगेका थिए । सोही क्रममा लामो समयदेखि आन्दोलन गरिरहेका स्थानीयहरुले क्याम्प स्थापना गर्न नदिने भन्दै अवरोध गरेका थिए । त्यसपश्चात प्रहरीले लाठी चार्ज सुरु गर्दा झडप हुन पुगेको अध्यक्ष वाइबाले थाहा यात्रालाई जानकारी दिएका छन् । साथै उनले यस घटनाका कारण स्थानीयहरुलाई थप आतंकित बनाउने काम भएकाले सबै स्थानीय बासिन्दाहरु एक भएर आन्दोलनलाई अझै शसक्त ढंगले अगाडि बढाउने बताएका छन् ।

काठमाडौंको शंखरापुर नगरपालिका ३ बोझेनीमा सिन्धुपाल्चोक, दोलखा र रामेछाप बेसिन तामाकोसी र सुनकोसी नदी जलाधार क्षेत्रमा निर्माण भएका जलविद्युत आयोजनाको विद्युतलाई काठमाडौं लगायतका स्थानमा वितरणका लागि त्यहाँ ४००, २२० र १३२ केभी क्षमताको सब -स्टेशन बनाउने योजना रहेको छ । तर, स्थानीयले भने सब स्टेशन निर्माणको प्रक्रियामा नै त्रुटि भएको, आदिवासी सम्बन्धि नेपाल पक्ष राष्ट्र रहेका अन्तर्राष्ट्रिय सन्धि तथा महासन्धिहरुको उल्लंघन भएको,एमसीसी परियोजनालाई कार्यान्वयन गर्न खोजेको र जबरजस्ती आफूहरुलाई आफ्नो थातथलोबाट विस्थापित गर्न खोजेको भन्दै सब स्टेशन नै अन्यत्र स्थानान्तरण गर्न माग राखी विगत ३२२ दिनदेखि निरन्तर विरोध प्रदर्शन गर्दै आइरहेका छन् ।