April 18, 2026, Saturday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

भारतको वाल्मीकि नहरमा भेटिए ४ शव, शवको संख्या १२ पुग्यो

असार ३१, २०८१

630

नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रवार पहिरोले बगाएको बसका यात्रुको शव भारतसम्मै पुगेको पाइएको छ । पहिरोसँगै त्रिशूली नदीमा खसेका दुई वटा बस अझै बेपत्ता छन् भने यात्रुको शव वाल्मीकि नहरसम्मै भेटिन थालेका छन् ।

नारायणी नदी हुँदै त्रिवेणीको गण्डक व्यारेज भएर भारतको वाल्मीकि नहरमा पुगेको अवस्थामा आइतवार चार वटा शव भेटिएको छ । ती शव पनि सिमलताल दुर्घटनामा परेका यात्रुकै हुन सक्ने अनुमान छ । नहरमा भेटिएका दुई वटा पुरुषको शव चितवन पठाइएको छ भने दुई वटा शव आज निकालेर पठाइने नवलपरासी प्रहरीले जनाएको छ ।

सिमलताल दुर्घटनामा परेका दुई वटा बसमा गरी कम्तिमा ६५ यात्रु सवार थिए । तीमध्ये तीन जनाले पौडिएर ज्यान जोगाएका हुन् भने बाँकी यात्रु बससँगै त्रिशूलीमा बेपत्ता भएका छन् ।

बेपत्ता भएका यात्रुमध्ये अहिलेसम्म १२ जनाको शव फेला परेको छ । तीमध्ये पाँच जनाको सनाखत भएको छ भने सात जनाको सनाखत हुन बाँकी छ ।

भारतको विहार बेतिया जिल्ला पश्चिम चम्पारण बस्ने ४० बर्षीय सजाद अन्सारी, ३० बर्षीय भारतीय नागरिक जयप्रकाश ठाकुर, २८ वर्षीय भारतीय नागरिक ऋषिपाल शाह, चितवनको माडी नगरपालिका–१ बस्ने २२ बर्षीय विकास परियार र सर्लाहीको बरहथवा नगरपालिका–३ बस्ने १९ बर्षीय रमित कुसर माझीको शव सनाखत भएको हो ।

भारतको वाल्मीकि नहरमा भेटिएका चार वटा, नवलपुरको मध्यविन्दुमा भेटिएको एक वटा, पश्चिम नवलपरासीको सुस्ता–४ मा भेटिएको एक वटा र भरतपुर–२६ सिसुवारमा भेटिएको एक वटा शवको सनाखत हुन बाँकी रहेको जिल्ला प्रशासन कार्यालय चितवनले बताएको छ ।

भर्खरै