

काठमाडौँ । चितवनमा गएराति भएको सवारी दुर्घटनामा नेपाली कांग्रेसका स्थानीय नेता राममणी न्यौपानेको मृत्यु भएको छ।
शनिबार राति साढे ११ बजेतिर कालिका नगरपालिका–११ मा बा १८ च ८९७३ नम्बरको बोलेरो दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। ६२ वर्षीय न्यौपाने सोही गाडी आफैँले चालक गर्दै थिए।
प्रहरीका अनुसार सिद्धीबाट कल्याणचौरतर्फ जाँदै गरेको बोलेरो अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेको थियो। गम्भीर घाइते अवस्थामा उद्धार गरिएका न्यौपानेलाई भरतपुर अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषित गरेका थिए।
खैरहनी नगरपालिका–४ निवासी न्यौपाने नेपाली कांग्रेसका स्थानीय नेता मात्रै नभई सामुदायिक वन, रेडक्रस र मौरीपालन व्यवसायमा समेत सक्रिय व्यक्तित्वका रूपमा परिचित थिए।






