

नौ वर्षीय बालकको हत्या गरी २३ वर्षदेखि फरार एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको गढवा गाउँपालिका-७ मानपुरका ५० वर्षीया वसन्ता शर्मा पण्डित रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिएअनुसार ती महिलालाई काठमाडौंको नयाँ बसपार्क क्षेत्रबाट पक्राउ गरिएको हो ।
विसं २०५९ असार १९ गते आफ्नी सौताको नौ वर्षीय छोरा शरद् शर्मालाई लाठी प्रहार गरी हत्या गरेर मलखादमा गाडेको अभियोगमा जिल्ला अदालत दाङले शर्मालाई विसं २०६० असोज २६ गते दुई वर्ष कैद सजाय तोकेको थियो । तर, पुनरावेदन अदालतले सोही वर्ष माघ ३ गते कैद सजाय बढाएर १० वर्ष पुऱ्याएपछि उनी फरार थिइन् ।
शर्मा काठमाडौंमा छोरा केशवराज शर्मासँग बस्दै आएको थाहा पाएपछि इलाका प्रहरी कार्यालय गढवाबाट प्रहरी टोली खोजतलासका लागि खटिएको थियो । गढवा प्रहरी टोलीले जिल्ला प्रहरी परिसर काठमाडौंको सहयोगमा नयाँ बसपार्क क्षेत्रमा शर्मालाई गत मङ्गलबार बिहान पक्राउ गरेका हो । ती महिलालाई कैद सजाय भुक्तानका लागि दाङ जिल्ला अदालतमा पठाइएको प्रहरीले जनाएको छ ।
