


आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी सुर्खेतको गुर्भाकोट नगरपालिका-१२ पिप्लेनिवासी माया कठायतको शव फेलापरेको छ । एघार वर्षकी छोरी आशा र पाँच वर्षका छोरा दीपकसहित सम्पर्कविहीन भएकी मायाको शव सोमबार (२ चैत) बेलुकी फेलापरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता मोहनजङ्ग बुढथापाले जानकारी दिएका छन् ।
प्रहरी र स्थानीयले खोजी गर्दा उनको शव भेरी नदीमा भेटिएको हो । हराएको स्थानदेखि सात किलोमिटर दक्षिणतर्फ लेकबेँसी नगरपालिका–३ पटारेस्थित भेरी नदीको किनारमा शव भेटिएको प्रवक्ता बुढथापाले बताए ।
मायाका दुई सन्तानको खोजी भइरहेको प्रहरीले जनाएको छ । उनीहरू आइतबारदेखि बेपत्ता थिए । मायाका श्रीमान् भूपेन्द्र कठायतले प्रहरी चौकी गुमीमा खबर गरेपछि खोजी सुरु भएको थियो ।











