


अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन कार्यालयका दुई अधिकृतलाई जिम्मेवारीबाट हटाएको छ। पासपोर्टमा ‘काम गर्न निषेध’ भन्ने टिप्पणी लेखिएको विषय सार्वजनिक भएपछि विभागले उनीहरूमाथि कारबाही गर्दै छानबिन प्रक्रिया अघि बढाएको हो।
विभागका अनुसार नेपाली नागरिकलाई विदेश प्रस्थान अनुमति दिने क्रममा कुनै पनि सर्त तोक्ने नीति वा निर्णय छैन। तर विद्यमान कानुन र विभागीय निर्देशनविपरीत गएर यस्तो टिप्पणी गरिएको पाइएपछि सम्बन्धित कर्मचारीलाई तत्काल हटाइएको जनाएको छ।
घटनाको विस्तृत छानबिनका लागि विभागले समिति गठन गरिसकेको छ। उक्त समितिले घटनाको कारण, प्रक्रिया तथा जिम्मेवारीबारे अध्ययन गरी प्रतिवेदन पेश गर्नेछ।
यो प्रकरण त्यसबेला बाहिर आएको हो, जब युनाइटेड अरब इमिरेट्स जान लागेका एक यात्रुको पासपोर्टमा प्रस्थान छापसँगै ‘२०२६ जुन १० सम्म काम गर्न निषेध’ लेखिएको देखियो। सो घटनापछि विभागले वैशाख ३ गते नै छानबिन समिति गठन गर्ने निर्णय गरेको जनाएको छ।
विभागले यस्तो अभ्यास पूर्ण रूपमा अस्वीकार्य रहेको स्पष्ट पार्दै भविष्यमा यस्ता घटना दोहोरिन नदिन कडाइ गरिने जनाएको छ।











