


धादिङको ज्वालामुखी गाउँपालिकामा सम्पन्न भएको एउटा अन्तरजातीय विवाह अहिले सामाजिक सन्देशको विषय बनेको छ। परिवारकै सहमतिमा धुमधामका साथ सम्पन्न भएको यो विवाहलाई स्थानीय तहले समेत सम्मान गरेको छ। जातीय विभेद अझै देखिने समाजमा यो विवाहलाई सकारात्मक उदाहरणका रूपमा हेरिएको छ।
देशका विभिन्न स्थानमा अझै पनि जातीय विभेद र छुवाछुतका घटना भइरहेका बेला धादिङको ज्वालामुखी गाउँपालिका–७ चैनपुरमा भने एउटा अन्तरजातीय विवाहले समाजमा सकारात्मक सन्देश दिएको छ।
कृष्ण रम्तेल र राधिका रम्तेलकी छोरी मञ्जु रम्तेल र ज्वालामुखी गाउँपालिका–६ का बेदबहादुर राना मगरका छोरा संगम राना मगरबीच पारिवारिक सहमतिमा धुमधामका साथ मागी विवाह सम्पन्न भएको हो।
परम्परागत रीतिरिवाज अनुसार बाजागाजासहित जन्ती बेहुलीको घर पुगेपछि विवाह सम्पन्न गरिएको थियो। गाउँमै भव्य रूपमा सम्पन्न भएको यो अन्तरजातीय विवाहलाई सामाजिक परिवर्तनतर्फको सकारात्मक उदाहरणका रूपमा हेरिएको छ।











