April 21, 2026, Tuesday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

स्वच्छ र भयमुक्त निर्वाचनमार्फत दिगो लोकतन्त्रको नयाँ युग सुरु हुन्छ : प्रधानमन्त्री कार्की

फाल्गुन ७, २०८२

465

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गरी मुलुकमा दिगो लोकतान्त्रिक स्थायित्वको नयाँ युगको ढोका उघार्ने प्रयत्नमा सरकारले सम्पूर्ण तागत लगाएको बताउनुभएको छ।

राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ का अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले निर्वाचनबाट आउने संसद् र सरकारले लोकतन्त्रलाई अझ जीवन्त, नतिजामुखी र जनउत्तरदायी प्रणालीका रूपमा अघि बढाउने विश्वास व्यक्त गर्नुभयो।

प्रधानमन्त्री कार्कीले सबल लोकतन्त्रले असन्तोषलाई दमन नगर्ने र त्यसलाई सुधारको अवसरका रूपमा ग्रहण गर्नुपर्नेमा जोड दिनुभयो। “प्रजातन्त्रलाई अब शासकीय स्वरूपमा आएको प्राविधिक परिवर्तनका रूपमा मात्र कदापि हेरिनुहुँदैन। अब त खासमा यो एउटा जीवनशैली हो। यो इन्टरनेटमा हुने अभिव्यक्ति स्वतन्त्रतादेखि भान्छामा पाक्ने तरकारीको मूल्यसम्ममा झल्कनुपर्छ,” उहाँले भन्नुभयो।

लोकतन्त्र केवल प्रक्रिया मात्र नभई नतिजामुखी हुनुपर्ने उल्लेख गर्दै उहाँले विधिको शासन आवश्यक भए पनि प्रक्रियाको नाममा नागरिकलाई अल्झाउने, ढिलासुस्ती गर्ने, हैरानी र प्रताडना दिने प्रवृत्ति लोकतन्त्रको अभ्यास नभई बेथिति भएको टिप्पणी गर्नुभयो।

वर्तमान सरकारले ‘जेनजी आन्दोलन’को आवाजलाई गम्भीरतापूर्वक लिएको जनाउँदै प्रधानमन्त्रीले सुशासन, पारदर्शिता, समन्याय र जवाफदेहितालाई व्यवहारमा रूपान्तरण गर्ने दिशामा सरकारका प्रयास केन्द्रित रहेको स्पष्ट पार्नुभयो।

प्रजातन्त्र दिवसले संस्कारयुक्त राजनीति, जवाफदेही शासनशैली र सामाजिक न्यायसहितको समृद्धि हासिल गर्न प्रेरित गरोस् भन्ने कामना गर्दै उहाँले राष्ट्र सबै नागरिकका लागि समान अवसर र सम्मानको साझा घर बन्नुपर्नेमा जोड दिनुभयो। भ्रष्टाचार, स्रोतमा सीमित वर्गको हालीमुहाली र दण्डहीनता लोकतन्त्रका मुख्य चुनौती रहेको उल्लेख गर्दै ठूलो युवा पंक्ति पलायन भई गाउँहरू खाली हुनुको प्रमुख कारण पनि यही रहेको उहाँको भनाइ छ।

रासस

भर्खरै