April 20, 2026, Monday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

भारतद्वारा नेपाली सेनालाई सहयोग

भदौ २, २०८२

565

भारतीय सरकारले नेपाली सेनालाई केही थान सवारीसाधन, घोडा र विपद्पछिको घटनाको अनुसन्धानमा प्रयोग हुने कुकुर सहयोगस्वरुप उपलब्ध गराएको छ ।

नेपालको दुईदिने भ्रमणमा रहेका भारतीय विदेशसचिव विक्रम मिस्रीले सैनिक मुख्यालय जङ्गी अड्डामा आज (२ भदौ) आयोजित कार्यक्रममा ती सहयोग हस्तान्तरण गरेका हुन् ।

भारतबाट ६ थान सवारीसाधन, पाँच वटा घोडा र विस्फोटन तथा विपद्का घटनापछि खोजी र अनुसन्धानमा प्रयोग हुने दुई वटा कुकर प्राप्त भएको छ ।

यसअघि प्रधानसेनापति अशोकराज सिग्देल र विदेशसचिव मिस्रीबीच शिष्टाचार भेटवार्ता भएको थियो । भेटका अवसरमा दुई देशबीचको सहयोग, सम्बन्ध र आपसीहितका विषयमा विचार विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

नेपाल र भारतबीच राजनीतिक तहमा मात्र नभइ सैनिक र जनस्तरमा समेत ज्यादै न्यानो र प्रगाढ सम्बन्ध रही आएको छ । नेपाल र भारतबीच एकअर्का देशका सेना प्रमुखलाई मानार्थ सेना प्रमुखको सम्मान प्रदान गर्ने अनुपम परम्परा छ । नेपाल र भारतबीच लामो समयदेखि वार्षिकरुपमा ठूलो सङ्ख्यामा एकअर्का देशमा सैनिक तालिम र प्रशिक्षणका कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

एकै खालको भाषा, धर्म र संस्कृतिका तथा पुरानो मित्रवत र खुला सीमाका कारण भारत-नेपालबीच एकअर्का देशमा सहज आवतजावतले मित्रतालाई जनस्तरमा घनिष्ट तुल्याएको छ ।

हस्तान्तरण समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र नेपाली सेनाका उच्च अधिकृत सहभागी रहेका थिए ।

भर्खरै