April 20, 2026, Monday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

त्रिशूली नदीमा खसेका दुई बसका यात्रुको बिहानैदेखि खोजी सुरु

असार २९, २०८१

585

नारायणगढ-मुग्लिन सडक खण्डको सिमलतालबाट त्रिशूली नदीमा खसेका दुई बसका यात्रुको आज (२९ असार) बिहानैदेखि खोजी सुरु गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोरसहितको टोलीले उनीहरुको खोजी गर्न थालेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार रातिमा काम गर्न नसकिने भएकाले शुक्रबार साँझ खोजीकार्य रोकिएको थियो । नदीमा पानीको मात्रा बढी भएको तथा धमिलो पानीमा यात्रुको खोजी गर्न समस्या देखिएपछि गए राति खोजीकार्य रोकिएको थियो ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेश यादवले सम्भावित सबै स्थानमा हराइरहेका यात्रुको खोजी गरिने जानकारी दिँदै भनेका छन्, ‘धमिलो पानीकैबीच खोज र उद्धार थालेका छौँ ।’

काठमाडौंबाट गौरतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००१ ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको बस शुक्रबार बिहान भरतपुर महानगरपालिका-२९ सिमलतालमा पहिरोमा परी त्रिशूली नदीमा खसेका थिए ।

काठमाडौंबाट गौर जाँदै गरेको बसमा २७ तथा वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बसमा सवार २४ यात्रु बेपत्ता भएका प्रजिअ यादवले बताएका छन् । उक्त घटनामा तीन यात्रु पौडी खेलेर बाँचेका छन् ।

भर्खरै