


नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुङ्गानाले नगरलाई शिक्षासँगै खेलकुदको सशक्त केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता पुनः व्यक्त गरेका छन्। बुधबार आयोजित दोस्रो नीलकण्ठ मेयर फुटसल प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले खेलकुदमार्फत युवाशक्तिलाई सकारात्मक, अनुशासित र सिर्जनात्मक दिशातर्फ अग्रसर गराउने दीर्घकालीन लक्ष्य रहेको बताए।
शिक्षापछि अब खेलकुदमा केन्द्रित
नगरपालिका स्थापना भएयता फुटबल, ब्याडमिन्टन, फुटसललगायत विभिन्न विधामा नियमित प्रतियोगिता सञ्चालन हुँदै आएको उल्लेख गर्दै मेयर ढुङ्गानाले खेल गतिविधिलाई संस्थागत र योजनाबद्ध रूपमा अघि बढाइएको जानकारी दिए।
“नीलकण्ठलाई शिक्षाको हबका रूपमा स्थापित गरिसकेका छौँ, अब खेलकुदको हब बनाउने अभियानमा जुटेका छौँ,” उनले भने, “सीमित स्रोत–साधनका बाबजुद पनि खेल क्षेत्रलाई उच्च प्राथमिकतामा राखेका छौँ।”
देशको आर्थिक अवस्था चुनौतीपूर्ण रहे पनि नगरपालिकाले हरेक वर्ष बजेट व्यवस्थापन गरी खेलकुद कार्यक्रम सञ्चालन गर्दै आएको मेयर ढुङ्गानाको भनाइ छ। स्थानीय तहमै रहेका खेल प्रतिभाको पहिचान, संरक्षण र प्रोत्साहनका लागि यस्ता प्रतियोगिता प्रभावकारी माध्यम हुने उल्लेख गर्दै उनले नगरका खेलाडीलाई प्रदेश, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने लक्ष्य लिएको स्पष्ट पारे।
प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा वक्ताहरूले खेलकुदमार्फत धादिङ जिल्लालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा २६ टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ।
प्रतियोगितामा प्रथम हुने टोलीलाई १ लाख ११ हजार १ सय ११ रुपैयाँ, द्वितीयलाई ५५ हजार ५ सय ५५ रुपैयाँ, तृतीयलाई २२ हजार २ सय २२ रुपैयाँ र सान्त्वना टोलीलाई ११ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।
त्यस्तै उत्कृष्ट गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट डिफेन्डरलाई जनही ६ हजार ६ सय ६६ रुपैयाँका दरले पुरस्कृत गरिनेछ।











