

जेनजी आन्दोलनका क्रममा हेटौँडा (मकवनपुर)मा तोडफोड र आगजनीमा संलग्न भएको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
बागमती प्रदेशसभा सचिवालय भवन तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा तोडफोड र आगजनीमा संलग्न भएको अभियोगमा सर्लाहीको बरथवा नगरपालिका–१ निवासी २७ वर्षीय पुनम ठाकुर, २७ वर्षीय प्रमोद महतो र हेटौँडा उपमहानगरपालिका–८ का ४३ वर्षीय सागर घताने भन्ने रोमबहादुर घतानेलाई पक्राउ गरिएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिएका छन् ।
यसैगरी, हेटौंडा उपमहानगरपालिका-११ नवलपुरका ४५ वर्षीय सुशील पौडेलको घरमा आगजनी गरेको आरोपमा सोही स्थानका ३६ वर्षीय सुजन अधिकारी र ३५ वर्षका सुरेन्द्र मगरलाई पक्राउ गरिएको छ । उनीहरुलाई मकवानपुर जिल्ला अदालतबाट थुनामा राख्ने अनुमति लिई थप अनुसन्धान भइरहेको जनाइएको छ ।






