April 21, 2026, Tuesday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

धुलिखेल-साँगा सडकखण्डमा काम रोकियो

असार १९, २०८२

505

अरनिको राजमार्गअन्तर्गत साँगा-धुलिखेल सडकखण्डको स्तरोन्नतिको काम वर्षाका कारण रोकिएको छ । मनसुन बाहिरिएपछि पुनः काम सुचारु हुने आयोजनाले जनाएको छ ।

उक्त सडकखण्डको पुलबजार क्षेत्रमा भने स्थानीयको अवरोधका कारण चार महिनादेखि काम ठप्प अवस्थामा छ । उक्त क्षेत्रको करिब २ सय मिटर क्षेत्रमा विस्तारकार्य रोकिएको सडक विभागको सूर्यविनायक-धुलिखेल, धुलिखेल-सिन्धुली-बर्दिबास सडक आयोजनाले जनाएको छ । कार्यालयका अनुसार धुलिखेलमा एक किलोमिटर मुख्य सडक पक्की गरिएपनि मनसुनका कारण थप पक्की गर्न सकिएको छैन ।

सबै सामग्री तयारी अवस्थामा रहेपनि वर्षाका कारण धुलिखेलबाट बनेपातर्फको सडक तथा बनेपास्थित जनागाल क्षेत्रमा एक किमी सडक पक्की नगरिएको आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालले जानकारी दिएका छन् ।

खनालका अनुसार सडक बिस्तारसँगै बनेपा क्षेत्रमा करिब ५० वटा बिजुलीका पोल हटाउनुपर्ने तथा २८ किलोमा एक घर हटाउने कामसमेत रोकिएको हो । बनेपा शहरको पूर्वीतर्फ चण्डेश्वरी खोलादेखि बनेपा चारदोबाटोसम्म करिब एक किमी सडकको ढल निर्माणकार्य भइरहेपनि वर्षाका कारण काम नै ठप्प अवस्थामा रहेको छ । पुलबजार क्षेत्रमा भने ‘सेन्टर लाइन’को विषयलाई लिएर स्थानीयले अवरोध जनाएपछि चार महिनादेखि बिस्तारकार्य नै रोकिएको थियो । सेन्टर लाइनबाट दायाँबायाँ ७५÷७५ फिट (एक सय ५० फिट)मध्ये पनि एक सय ४० फिटमा काम भइरहेकोमा स्थानीयले दुवै तर्फका घरमा बराबर छुट्याउनुपर्ने विषयमा विवाद निकालेर निर्माणकार्य अबरुद्ध पारेका हुन् ।

सडकको डिजाइन अनुसार नै सडकको बीचबाट बराबर छुट्याउने भएकाले स्थानीयले घरको दुरीमा बराबर गर्नुपर्छ भन्दै विवाद सिर्जना गरेपछि निर्माणकार्य रोकिएको खनालले बताए ।। उनका अनुसार पटकपटक गरिएको सरोकारवालासहित बनेपा नगरपालिकाका जनप्रतिनिधि र स्थानीयबीचको छलफलले कुनै निष्कर्ष निकाल्न सकेको छैन । स्थानीयको अवरोधसँगै मापदण्डभित्रका घर–टहरा हटाउनुपर्ने, बिजुलीको पोल बिस्तार, अप्टिकल फाइबर, हाइटेन्सनका पोल हटाउनुपर्ने काम रोकिएको जनाइएको छ । पुलबजार क्षेत्रमा अवरोधका कारण बनेपाको मुख्य शहर क्षेत्रमासमेत निर्माण कार्य रोकिँदै आएको थियो ।

यसैबीच अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यबिनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक ६ लेनमा बिस्तारको काम समयमै नसकिने भएको छ । आयोजनाले बाँकी करिब ६ महिनाको अवधिमा बिस्तारको काम नसकिने जनाएको हो । वि.सं. २०७९ पुस २४ बाट सुरु गरिएको १६ किलोमिटर लम्बाईको यस सडक ३६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । उक्त सडकखण्ड सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्म गरी दुई खण्डमा विभाजन गरी सोहीअनुसार ठेक्का सम्झौता भई विस्तार भइरहेको थियो ।

हाल दुई खण्डको बिस्तारको काम ५० प्रतिशतको हाराहारीमा काम भएको आयोजनाले जनाएको हो । उक्त आयोजनाअन्तर्गत पहिलो चरणमा साँगादेखि धुलिखेल आठ दशमलव ४ किमी सडकखण्ड बिस्तारकार्यका लागि रु चार अर्ब पाँच करोड ६४ लाखका तथा दोस्रो चरणमा सुरु भएको सूर्यविनायक–साँगा सडकखण्ड रु तीन अर्ब ८८ करोड ९३ लाखमा सम्झौता भएको थियो ।

आयोजनाको सिनियर डिभिजनल इञ्जिनियर एवं सूचना अधिकारी सजना अधिकारीका अनुसार निर्धारित समयभित्र बिस्तारको काम नसकिने भएकाले समय थप्नुपर्ने देखिएको छ । उनका अनुसार मापदण्डभित्रका घर-ठहरा भत्काउन, रुख, बिजुलीका पोल तथा अप्टिकल फाइबरको केबल प्रतिस्थापन गर्दा समयमा काम सुरु हुन सकको थिएन । यस्तै साँगा-धुलिखेल खण्डमा बनेपाको शहरी क्षेत्रमा पुललगायत व्यक्तिगत घरको विवाद तथा मापदण्डभित्रका घर भत्काउन नसक्दा ढिलाई भएको अधिकारीको भनाई छ । समयसीमासम्म करिब ६५ प्रतिशत भौतिक निर्माण हुने जनाइएको छ ।

भर्खरै