गैरकानुनी रूपमा सञ्चालित डेटिङ एप र क्रिप्टो कारोबारमा संलग्न ६ जना चिनियाँ नागरिकसहित ५२ जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ । काठमाडौं र ललितपुरमा एकसाथ छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको सीआईबीका सूचना अधिकारी एस्पी युवराज खड्काले जानकारी दिएका छन् ।
सूचना अधिकारी खड्काका अनुसार ललितपुर महानगरपालिका-४, वालिफलस्थित दमकल चोक र काठमाडौं महानगरपालिका-१३, चागलबाट छापा मारेर उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।
सोसल सफ्ट्वेयर डेभलपमेन्ट प्रालि नामको संस्था दर्ता गरेर दमकलचोकमा मुख्य र उक्त शाखाको रुपमा चागलमा घर नै भाडामा लिएर गैरकानुनी रुपमा कल सेन्टर र डेटिङ एप संचालन भएको जानकारी दिँदै एस्पी खड्काले भनेका छन्, ‘विभिन्न नेपाली युवतीहरुलाई प्रलोभनमा पारी डेटिङ एपमार्फत अनलाइन डेटिङ स्क्याम तथा क्रिप्टो कारोबार गरिरहेको अवस्थामा ६ जना चिनियाँ नागरिकसहित ५२ जनालाई पक्राउ गरेको छ ।’
पक्राउ परेकामध्ये ६ जना चिनियाँ नागरिकउपर अभौतिक मुद्रासम्बन्धी मुद्दा दर्ता गरिएको छ भने ४६ जनाको थप अनुसन्धान भइरहेको बताइएको छ ।





















