


इजरायल–इरान युद्धका कारण इरानमा समस्यामा परेका नेपाली नागरिकलाई भारत सरकारले उद्धार गर्ने भएको छ । नेपाल सरकारको अनुरोधमा उनीहरुलाई इरानस्थित भारतीय दूताबासले उद्धार गर्ने भएको हो ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इरानमा १६ जना नेपाली नागरिक रहेकाले आफ्ना नागरिकको उद्धार गर्ने क्रममा नेपालीहरुलाई पनि उद्धार गरी ल्याइदिन भारत सरकारसँग आग्रह गरेकी थिइन् । परराष्ट्रमन्त्री राणाले भनेकी छन्, ‘इरानमा हाम्रा पनि सानो संख्यामा नेपाली नागरिक हुनुहुन्छ । यहाँहरुले आफ्ना नागरिकको उद्धार गर्ने क्रममा नेपालीहरुलाई पनि उद्धार गरिदिनुहोला भनी मैले भारतीय राजदूत नविन श्रीवास्तव मार्फत भारत सरकारलाई आग्रह गरेकी थिएँ । हामीहरु उहाँहरुको सहयोगको प्रतिक्षामा छौँ ।’
केही दिनयता जारी इजरायल इरान युद्धका कारण इरानमा रहेका नेपालीको उद्धारका लागि मन्त्री डा. राणाले भारत सरकारसँग सो आग्रह गरेकी थिइन् । यस प्रयोजनका लागि मन्त्री राणाले भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मालाई पनि आवश्यक समन्वय गर्न निर्देशन दिएकी थिइन् ।
इरानस्थित भारतीय दूतावासले नेपालको अनुरोध स्वीकार गरेपछि शनिबार परराष्ट्र मन्त्रालयले इरानमा रहेका नेपालीहरुलाई सम्पर्क गरी भारतीय दूतावासको सम्पर्कमा जान भनेको र इरानस्थित भारतीय दूतावासले पनि सो सूचना जारी गरेको छ ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले त्यहाँ रहेका नेपालीहरु र इरानस्थित भारतीय दूतबासका डिसिएम राखी मायुरीसँग सम्पर्क र समन्वय गरिरहेका छन् ।
यससँगै भारतीय दूतावासले नेपाल र त्यहाँ स्थित श्रीलंकाली नागरिकहरुलाई पनि सम्पर्कमा आउन भनेको छ । १६ नेपालीमध्ये अध्यागमनसम्बन्धी कानुनका कारण पाँच जना नेपाली इरानी जेलमा रहेकाले उनीहरुलाई पनि जेलमुक्त गरी स्वदेश फर्काउने पहल मन्त्रालयले जारी राखेको छ ।











