


श्री भैरव गण गजुरी धादिङबाट भैरव गण गजुरीमा छयानब्बे जना दीक्षित भएका छन् । तालिममा सहभागी नेपाली सेनाका सिपाहीहरुलाई शुक्रबार दीक्षान्त समारोहबीच दीक्षित गरिएको हो ।
सैन्य आधार तालिमको अन्तिम दलेल कवाज पूरा गरेका सिपाहीहरुलाई मध्य पृतना हेडक्वाटरका पृतना पति उपरथी हरेन्द्र पाठकले अन्तिम दलेल कवाज निरीक्षण गर्दै जनता, सैनिक संगठन र राष्ट्रको रक्षाका लागि जिम्मेवारी बहन गर्न निर्देशन दिएका हुन् । उनले नेपालको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, जनताको सुरक्षाका लागि नेपाली सेनाको गौरवमय इतिहास रहेकाले त्यसलाई संरक्षण गर्न दिएको जिम्मेवारी सेनाको मूल्य र मान्यताभित्र रहेर इमान्दारपूर्वक बहन गर्न आग्रह गरे ।
‘राष्ट्रको मेरुदण्ड नेपाली सेनाले दिएको जिम्मेवारीलाई बफादार एवं अनुशासित ढंगबाट पालना गर्न सक्नुपर्छ,’ उनले भने- ‘इमानदार र कर्तव्यनिष्ठ भएर सेवामा समर्पित हुनु, आजदेखि भविष्यको ढोका खुलेको छ ।’
उनले दीक्षित सैनिकलाई सेनाको मुख्य दायित्वको अतिरिक्त विपत् व्यवस्थापन, विकास निर्माणमा सहयोग, वन सम्पदा तथा पर्यावरण संरक्षण, महत्वपूर्ण संरचनाको सुरक्षा, स्थानीय प्रशासनलाई सहयोगसहित विश्वमा शान्ति स्थापनार्थ दिँदै आएको सेवामा विश्वसनीय संस्थाको रूपमा बनाएको छवि कायम राख्न पनि आग्रह गरे । गणका सेनानी कुमार श्रेष्ठले कवाज प्रमुखको हैसियतमा अन्तिम दलेल कवाज गराए । ९ महिनासम्म भएको तालिममा छयानब्बे जना सहभागीहरुलाई हतियार चलाउने देखि सैनिकलाई आवश्यक सम्पूर्ण सीप सिकाइएको छ ।
धादिङ स्थित तत्कालीन श्री शिवदल गणबाट २०८२ बैशाख १५ गते देखि बुझी मोरङ जिल्लाबाट आएको श्री भैरव गण समूहको रूपमा सञ्चालन गरेको यो तालिमका क्रममा व्यवहारिक र सैद्धान्तिक लगायत विभिन्न कार्यमा उत्कृष्ट भएका सिपाहीहरू तालिमको फायरिङ्ग विधातर्फ प्रथम भएका सिपाही नवीन कुमाल, दौड विधातर्फ प्रथम सिपाही महेश किसान, बाधापार विधातर्फ प्रथम सिपाही डोल बहादुर थापा, ड्रिल विधातर्फ प्रथम सिपाही हाविल थापा र कमाण्डान्ट एण्ड मोटिभेसनल अवार्ड प्राप्त गर्न सफल सिपाहीलाई पुरस्कृत समेत गरिएको छ ।
तालिमको दौरान सैद्धान्तिक र ब्यवहारिक दुवैतर्फी सर्वोत्कृष्ठ नतिजा हासिल गरी प्रथम भएका सिपाही मनीष कुमार आलेलाई प्रमुख अतिथिले वीरताको चिनो खुकुरी प्रदान गरेका छन् । सैन्य आधार तालिमको अन्तिम दलेल कवाज समारोहमा सहभागी सिपाहीका आफन्तहरूले उज्वल भविष्यको कामना गर्दै उनीहरूलाई फूलमाला र अबिर लगाएर बधाई दिएका थिए ।
समारोहमा श्री नं. ६ वाहिनी अड्डाका वाहिनीपति सहायक रथी श्री सुबास जंग थापा, श्री भैरव गणका गणपति प्रमुख सेनानी असीम श्रेष्ठ जिल्लास्थित विभिन्न कार्यालयहरुका कार्यालय प्रमुख लगायत संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।











