May 13, 2025, Tuesday
Nepal 1:37:26 pm
Trending
शुभखबर संवाददाता

गण्डकी कोटिहोम उत्सवको रौनक : नाचगानले महायज्ञमा थपियो उर्जा

२०८२ बैशाख ५

225

पोखरा | पोखरा महानगरपालिका–१७ स्थित विरौटामा हाल सञ्चालनमा रहेको ऐतिहासिक गण्डकी कोटिहोम महायज्ञ धार्मिक मात्र होइन, सामाजिक, सांस्कृतिक र जनस्तरसम्मको सहभागिताको महाउत्सव बनेको छ। महायज्ञको एक विशेष दिनमा तीनवटा महत्वपूर्ण शुभकार्य सम्पन्न हुनुका साथै, कार्यक्रममा जनप्रतिनिधिहरू र विशिष्ट व्यक्तित्वहरूको झुल्का र सहभागिताले महायज्ञलाई अझै उल्लासमय बनेको छ ।
महायज्ञको प्रारम्भिक तयारीस्वरूप केही महिना अगाडि पोखरा–६ लेकसाइडमा भूमिपूजन गरिएको भए पनि विविध कारणले महायज्ञको स्थान परिवर्तन गर्दै पोखरा–१७ को विरौटा क्षेत्रमा स्थानान्तरण गरिएको हो । नयाँ स्थानमा समारोहको विधिपूर्वक पुनः शुभारम्भ गर्दै बाराहीघाटमा क्षमापूजन गरिएको थियो।

महायज्ञमा विशेष आकर्षणको केन्द्र बन्न पुगेकी छिन् वडा नम्बर १७ की वडाध्यक्ष राधिका शाही, जसले भूमिपूजनमा सक्रिय सहभागिता जनाउनुका साथै भजन मण्डलीसँगै रमाउँदै खुलेरै नाचेको दृश्यले सबैको ध्यान तानेको छ। कार्यक्रममा सहभागी स्थानीय जनताले वडाध्यक्षको यस्तो सांस्कृतिक झुकावलाई स्वागत गर्दै “जनप्रतिनिधि र जनता बीचको सम्बन्ध अझ प्रगाढ भएको” प्रतिक्रिया दिएका छन्।
त्यस्तै, गण्डकी प्रदेश सरकारका प्रेस रजिस्टार बिमला भण्डारी समेत विभिन्न सांस्कृतिक प्रस्तुतिहरूमा सहभागी भई अन्य विशिष्ट व्यक्तित्वहरूसँगै नाचगानमा रमाएकी थिइन्। महायज्ञजस्तो धार्मिक कार्यक्रममा सरकारी पदाधिकारीहरूको यसरी आत्मीयता प्रकट गर्नुले कार्यक्रममा थप उर्जा र सकारात्मक सन्देश दिएको उपस्थित धार्मिक श्रद्धालुहरूको बुझाइ छ।

गण्डकी कोटिहोम महायज्ञलाई व्यवस्थित, सफल र प्रभावशाली बनाउन पोखरा महानगरपालिका, वडास्तरीय जनप्रतिनिधिहरू, स्थानीय अगुवा तथा स्वयंसेवकहरू निरन्तर खटिरहेका छन्। विशेषगरी, महानगर प्रमुख धनराज आचार्य स्वयं महायज्ञमा सक्रिय रहँदै शुभकामना व्यक्त गरेका छन्।