May 18, 2024, Saturday
२०८१ जेष्ठ ५Nepal 1:37:26 pm
Trending
शुभखबर संवाददाता

बोझेनीबाट थप १० जना पक्राउ, स्थानीय आतंकित

२०८० मंसिर २

10.2K

काठमाडौंः काठमाडौंको शंखरापुर नगरपालिका ३ बोझेनीमा प्रहरीसँगको झडपमा संलग्न भएको भन्दै प्रहरीले १४ जनालाई पक्राउ गरेको छ । शुक्रबार राति चार जना र आज बिहान १० जना गरी १४ जनालाई प्रहरीले पक्राउ गरेको हो । शुक्रबार राति जयमान वाइवा, सूर्यमान तामाङ, सुनबहादुर वाइवा र हर्कमान वाइवा पक्राउ परेका थिए भने आज बिहान प्रहरीले घरघरमा प्रवेश गरी ढोकासमेत फुटाएर अप्पर तामाकोसी जलविद्युत परियोजना पीडित संघर्ष समितिका अध्यक्ष रणजीत वाइबासहित १० जना पक्राउ गरेका छन् ।

नेपाल विद्युत प्राधिकरणले सब स्टेशन निर्माणस्थल बोझेनीमा जबरजस्ती सुरक्षा पोष्ट स्थापना गर्न खोज्दा शुक्रबार राति प्रहरी र स्थानीयबीच झडप भएको थियो ।काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार सबस्टेसनको सुरक्षाका लागि जिल्ला सुरक्षा समितिको बैठकबाट प्रहरी नायव उपरीक्षक (डिएसपी) को नेतृत्वमा सशस्त्र प्रहरीको बेस क्याम्प र नेपाल प्रहरीको पोष्ट राख्ने निर्णय भएको थियो । सोही निर्णय बमोजिम शुक्रबार बेलुकी शसस्त्र प्रहरी र नेपाल प्रहरीको टोली बोझेनी पुगेको थियो । त्यसको विरोधमा स्थानीयहरुले अवरोध गर्दा प्रहरीले लाठी चार्ज सुरु गर्दा झडपको स्थिति उत्पन्न भएको थियो ।

झडपमा डीएसपी देवराज राईसहित तीन जना सुरक्षाकर्मी घाइते भएको प्रमुख जिल्ला अधिकारी बस्नेतले जानकारी दिए । त्यस्तै ६ जना स्थानीय घाइते भएका छन् भने १ जनाको अवस्था जटिल रहेको छ । पक्राउ परेका १४ जनालाई नै अहिले बौद्ध स्थित महानगरीय प्रहरी वृत्त बौद्धको हिरासतमा राखिएको छ । बोझेनीका स्थानीयहरु यत्तिबेला आतंकित बनेर निक्कै त्रासमा बाँचिरहेका छन् । र, केही संख्यामा स्थानीयहरु घर छाडेर अन्य गाउँमासमेत सरिसकेका छन् । यससँगै विभिन्न संघसंस्थाहरुले प्रेस विज्ञप्तिसमेत जारी गरी यस घटनाको निन्दा गरेका छन् भने बोझेनीबासी जनताको आन्दोलनप्रति ऐक्यबद्धतासमेत जनाएका छन् । त्यस्तै बोझेनीमा अहिले अघोषित रुपमा कफ्र्यु नै लगाएर जनतालाई आतंकितसमेत बनाइरहेको उनीहरुको आरोप छ ।