April 19, 2026, Sunday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

बाढीपहिरोमा परी आजसम्म १४८ को मृत्यु

साउन १७, २०८१

655

अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरोलगायतका विपद्मा परी आजसम्म एक सय ४८ जनाको मृत्यु भएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार बाढीपहिरोलगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा तीन जना, कोशी प्रदेशमा २५ जना, मधेस प्रदेशमा छ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४२ जना, लुम्बिनी प्रदेशमा २५ जना, कर्णाली प्रदेशमा आठ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा एक सय ४८ जनाको मृत्यु भएको हो ।

उहाँका अनुसार काठमाडौँ उपत्यकामा १० जना, कोशी प्रदेशमा ३७ जना, मधेश प्रदेशमा १० जना, बागमती प्रदेशमा १० जना, गण्डकी प्रदेशमा ३४ जना, लुम्बिनी प्रदेशमा १० जना, कर्णाली प्रदेशमा ५१ जना र सुदूरपश्चििम प्रदेशमा १४ जना गरी जम्मा एक सय ७६ जना घाइते भएका छन् ।

बाढीपहिराका कारण काठमाडौँ उपत्यकामा २६ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, कर्णाली प्रदेशमा दुई जना र सुदूरपश्चिम प्रदेशमा पाँच जना गरी जम्मा एक सय आठ जनाको उद्धार गरिएको छ । साथै कोशी प्रदेशमा दुई जना, बागमती प्रदेशमा ४२ जना, गण्डकी प्रदेशमा दुई जना र कर्णाली प्रदेशमा एक जना गरी ४७ जना वेपत्ता भएका र बेपत्ताको खोजी जारी रहेको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।

बाढीको कारण जम्मा तीन सय ८३ घर डुबानमा परेका छन् । जसअन्तर्गत दुई सय ५५ वटा घर, ९१ वटा गोठ, ४३ वटा पुल, दुई वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको प्रहरीले जनाएको छ । बाढीपहिरामा परी आजसम्म सात सय १५ वटा पशुचौपायाको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट चार हजार एक सय १२ घर परिवार विस्थापित भएका प्रवक्ता कार्कीले जानकारी दिनुभयो । रासस

भर्खरै