

नेपाली सेनाले पछिल्लो समय जनस्तरसंग सम्बन्ध विस्तारको काम तीव्र पारेको छ । स्वास्थ्य शिविर, विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामाग्री तथा लत्ताकपडा विवरण जस्ता जनमैत्री काम गरेर नागरिक र सेनाका बीचमा सम्बन्ध विस्तारको पहल थालेको हो । यसै क्रममा नेपाली सेनाले धादिङमा एकदिने बृहत स्वास्थ्य शिविर लगायतका कार्यक्रम सम्पन्न गरेको छ ।
धादिङ जिल्लाको बेनीघाट–रोराङ गाउँपालिका–१० अन्तर्गत पर्ने अत्यन्तै विकट चेपाङ बस्तीमा नेपाली सेनाले एकदिने विस्तृत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी स्थानीय समुदायलाई महत्त्वपूर्ण स्वास्थ्य सेवा पुर्याएको छ । नियमित स्वास्थ्य सेवा पहुँचबाट टाढा रहेका स्थानीय बासिन्दा लक्षित यो शिविरमार्फत कुल ३७२ जनाले स्वास्थ्य परीक्षण तथा उपचार सेवा प्राप्त गरेका छन् । सहभागीमध्ये २५३ महिला र ११९ पुरुष रहेका थिए, जसले स्वास्थ्य सेवाको आवश्यकता र स्थानीयको सहभागितालाई स्पष्ट रूपमा देखाउँछ। निःशुल्क स्वास्थ्य सेवा पाएपछि स्थानीयले खुसी प्रकट र सेनाप्रति आभार प्रकट गरेका छन् ।
शिविरमा स्त्रीरोग, बालरोग, सामान्य रोग, छालारोग, नाक-कान-घाँटी तथा आँखा सम्बन्धी समस्याका लागि विभिन्न विधाका विशेषज्ञ चिकित्सकहरूको टोली खटाइएको थियो । विशेषज्ञहरूको उपस्थितिले शिविरलाई प्रभावकारी बनाएको स्थानीयले बताएका छन् । स्वास्थ्य परीक्षणसँगै परामर्श, रोग पहिचान तथा तत्काल आवश्यक औषधि निःशुल्क वितरण गरिएको थियो।
स्वास्थ्य शिविर सफल बनाउन श्री ६ नम्बर बाहिनी अड्डा, नम्बर ६ फि.ए. गुल्म, जिल्ला जनस्वास्थ्य कार्यालय, जिल्ला अस्पताल, गजुरी गाउँपालिका, बेनीघाट–रोराङ गाउँपालिका, जिल्ला औषधि व्यवसायी संघ, गजुरी प्राथमिक उपचार केन्द्र, बीपी आइ फाउण्डेशन भक्तपुर, एनसीसी एलुम्नाइ एसोसिएसन धादिङ, जिल्ला उद्योग वाणिज्य संघ धादिङलगायत थुप्रै स्थानीय संघ–संस्थाहरूले महत्वपूर्ण सहयोग गरेका थिए । यो सहकार्यका कारण शिविर बहुआयामिक र सर्वसुलभ बनेको थियो।स्वास्थ्य सेवासँगै सामाजिक सहयोगका कार्यक्रमहरू पनि समेटिएका थिए।
बालबालिकालाई स्टेशनरी सामग्री वितरण, स्थानीयलाई लत्ताकपडा प्रदान तथा निःशुल्क कपाल काट्ने सेवा जस्ता अतिरिक्त सुविधाले शिविरलाई अझै जनमैत्री बनाएको थियो । यस्ता क्रियाकलापहरूले समुदायमा खुसी बढाउनुका साथै सेनाप्रति विश्वास र अपनत्व पनि अभिवृद्धि गरेको स्थानीय अभिव्यक्ति थियो ।
शिविरमा ६ नम्बर बाहिनीका बाहिनीपति सहायक रथी सुवासजंग थापा, भैरव गणका गणपति प्रमुख सेनानी असिम श्रेष्ठ, सेनानी कुमार श्रेष्ठको कमाण्डमा रहेको १/२३ नफ्री तथा नम्बर ६ फि.ए.का १/३ प्रा. सहसेनानी डा. आशीष थापाको नेतृत्वमा रहेको १/२३ नफ्रीको उपस्थिति उल्लेखनीय थियो । उनीहरूले स्वास्थ्य सेवा ग्रामीण क्षेत्रसम्म पुर्याउन सेनाको निरन्तर प्रतिबद्धता दोहोर्याएका थिए ।
नेपाली सेनाका अनुसार विकट बस्तीमा स्वास्थ्य पहुँच विस्तार गर्नु र नागरिक–सैनिक सम्बन्धलाई थप मजबुत बनाउनु नै शिविरको मुख्य उद्देश्य हो । सेवाबाट लाभान्वित स्थानीयबासीले घरैपछाडिको खोला छेउमा आएजस्तै सहज रूपमा गुणस्तरीय उपचार पाउन पाएको अनुभूति व्यक्त गर्दै सेनाप्रति कृतज्ञता प्रकट गरेका थिए ।






