


बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको बसपार्कमा प्रहरीले गोली हानेर लागुऔषध खैरो हेरोइन कारोबारमा संलग्न चार जनालाई पक्राउ गरेको छ ।
प्रहरीले लागुऔषध कारोवारमा संलग्न रहेका दुई जनालाई सुरूमा पक्राउ गरेको र दुई जनाले प्रहरीमाथि ढुङ्गामुढा गरेर भाग्न खोज्दा उनीहरूमाथि दुई राउड गोली चलाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक रामबहादुर घर्तिले जानकारी दिएका छन् ।
‘लागुऔषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा दुई जनालाई पिछा गरिरहेका थियौँ, तर त्यहाँ चार जना रहेछन्’ भन्दै प्रहरी उपरीक्षक घर्तीले दुई जनालाई प्रहरीले पक्राउ गरेपछि दुई जनाले प्रहरीमाथि ढुङ्गामुढा गरेर भाग्न खोजेपछि बाध्य भएर प्रहरीले गोली चलाएको स्पष्ट पारे ।
प्रहरीले नेपागञ्ज उपमहानगरपालिका-५ का २२ वर्षीय अमन साह, सोही ठाउँ बस्ने २६ वर्षीय भाइजन अन्सारी, भारतको बहराइज रूपैडियाका २० वर्षीय अजयकुमार र २० वर्षीय कात्तिक कुमारलाई पक्राउ गरेको छ । उनीहरूमध्ये कात्तिक कुमारको खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ । उनको दायाँ खुट्टामा गोली लागेको छ । लागुऔषध कारोबारीले प्रहार गरेको इट्टा लागेर एक जना प्रहरीसमेत घाइते भएका छन् ।
उनलाई उपचारका लागि स्थानीय अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । उनीहरूबाट प्रहरीले लागुऔषध बरामद गरेको छ ।











