November 6, 2025, Thursday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

पेट्रोलियम पदार्थ भण्डारण गृह निर्माण लोथरमा गरिने

साउन १७, २०८२

125

चितवनको लोथर खोला र राप्ती दोभानको किनारमा पेट्रोलियम पदार्थ भण्डारण गृह निर्माण गरिने भएको छ । सो स्थानमा अमलेखगञ्ज-लोथर पेट्रोलियम पाइपलाइन बिस्तार गरी भण्डारण गृह निर्माण गरिने भएको हो ।

भण्डारण गृह बनाउन राप्ती नगरपालिका-१ मा २३ बिगाहा १२ कठ्ठा जमिन नेपाल आयल निगमले खरिद गरेर साइट अफिस सञ्चालनमा ल्याइसकेको छ । चितवन र मकवानपुर जोड्ने लोथर पुलबाट ७०० मिटर पश्चिम लोथर खोलाको बाँधसम्म नियमले जग्गा लिएको हो ।

नेपाल आयल निगम र इण्डियन आयल कर्पोरेशनको सहकार्यमा रु १५ अर्ब लगानीमा अमलेखगञ्ज लोथर पेट्रोलियम पाइप लाइन तथा भण्डारण गृह निर्माण गरिँदैछ । आयल निगमले रु १० अर्ब र इन्डियन आयल कर्पोरेशनले रु पाँच अर्ब लगानी गरेर परियोजना सम्पन्न गर्न लागिएको हो । जग्गा खरिदमा रु ६० करोड खर्च भइसकेको छभने रु १० करोडमा थप जग्गा खरिद प्रक्रियामा रहेको आयोजनाले जनाएको छ ।

आधुनिक प्रविधिबाट ग्रिनफिल्ड टर्मिनल निर्माण गर्न लागिएको हो । ६२ किलोमिटर लामो पाइपलाइन निर्माण गरी जुनसुकै बेला तीन हजार २०० किलोलिटर इन्धन क्षमताको भण्डारण गृह निर्माण गर्न लागिएको हो । वार्षिक दुई करोड टन इन्धन ढुवानी गर्न सक्ने क्षमताको पाइप लाइन बनाउन लागिएको हो । तीन वर्षभित्रमा काम सक्ने जनाइएको छ ।

सो भण्डारण गृह निर्माण गर्दा लोथर खोला र राप्ती नदीमा बलियो तटबन्धन निर्माण हुने स्थानीयवासीले आशा गरेका छन् । यससँगै रोजगारी प्राप्त हुने र व्यवसाय सञ्चालन गर्न सकिने उनीहरुको विश्वास छ ।