April 19, 2026, Sunday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

नागढुङ्गा सुरूङमार्ग आगामी पुसभित्र सञ्चालनमा ल्याइने

जेष्ठ ९, २०८२

895

नागढुङ्गा सुरूङमार्ग आगामी पुसपछि सञ्चालनमा आउने भएको छ । अहिलेकै गतिमा काम गर्ने वातावरण भएमा आगामी ६ महिनाभित्र सुरूङमार्ग सञ्चालनमा आउने गरी तयारी गरिएको सम्बद्ध पक्षको भनाइ छ।

कूल ९० प्रतिशत भौतिक प्रगति गरी हाल १० प्रतिशतको काम बाँकी रहेको नागढुङ्गा सुरूङमार्गमा उपकरणहरूको संयोजन चलिरहेको आयोजनाको परामर्शदाता संस्था निप्पन कोइका इञ्जिनियर रमेशप्रसाद कोइरालाले जानकारी दिएका छन् । ‘अहिले उपकरणहरूको परीक्षण र समग्र सुरूङमार्गको कार्यमा त्यसलाई संयोजना सम्झौताअनुसार आगामी कात्तिकको पहिलो साता निर्माण सम्पन्न गरी सञ्चालक निकायलाई हस्तान्तरण गर्ने लक्ष्यमा छौँ’, इञ्जिनियर कोइरालाले भनेका छन्- ‘अहिले उक्त सञ्चालक निकायको छनोटको प्रक्रिया अघि बढिरहेको छ र त्यो निकाय छनोट भएपछि पनि त्यसपछि तालिम लिनुपर्ने हुन्छ । त्यसमा पनि दुई महिना जति लाग्न सक्छ ।’

उनका अनुसार आयोजनाले सुरूङमार्गको सुरक्षा, सहज आवागमन र मानवीय सुरक्षाका लागि सुरूङभित्र दमकल, आकस्मिक उद्धार, सिसिटिभी क्यामेरा, सञ्चार र सुरक्षा संयन्त्र, अक्जिनको निरन्तर प्रवाहजस्ता सुरूङमार्गका अत्यावश्यक सेवा (टनेल फ्यासिसिटी) उपलब्ध गराउने कामलाई अन्तिम रूप दिइरहेको छ ।

पूर्वी मुखमा काठमाडौंको चन्द्रागिरि नगरपालिकाको दहचोकबाट सुरू हुने कूल २ दशमलव ७ किलोमिटर लामो सुरूङमार्ग पश्चिमतर्फ धादिङको धुनीबेँसी नगरपालिकाको सिस्ने खोलामा टुङ्गिनेछ । त्यसैको समानान्तर उद्धार आदि कार्यका लागि समानान्तर सहायक सुरूङसमेत खनिएको छ ।

सञ्चालनमा आएपछि नागढुङ्गादेखि बलम्बुसम्मको भौतिक दूरी करिब तीन किलोमिटरले छोटिनेछ भने प्रचलित मार्गमा हुने जाम, त्यहाँको उकालो र घुमाउरो बाटो आदिका हिसाबले इन्धन र सडकउपभोक्ताको झण्डै एक घण्टा समय बचत हुने अपेक्षा गरिएको छ ।

सुरूङमार्ग निर्माणमा सुरूमा देखिएका भौगोलिक अनिश्चिता, बजेटको व्यवस्था र स्थानीयसँगको संयोजनलाई आयोजना अनुकूल बनाउँदै भौतिक प्रगति हासिल गरिएको पनि इञ्जिनियर कोइराला बताउँछन् । सुरूङमार्गमा निस्किएको पानीको व्यवस्थापनबारे स्थानीय जनता, चन्द्रागिरि नगरपालिका र धुनीबेँसी नगरपालिकाबीच केही अन्योल रहे पनि त्यसलाई सम्बोधन गर्ने तयारी भइरहेको उनले बताए ।

आयोजनाले सिस्ने खोलातर्फ बनाउन लागेको पार्कको काम भने जग्गाको स्वामित्वबारे विवादका कारण स्थगित गरिएको कोइरालाले जनाएका छन् ।

भर्खरै