


काठमाडौंको माइतीघर मण्डला स्थित राष्ट्रिय झन्डा राखिएको पोलमाथि चढेर आत्मदाह गर्ने प्रयास गर्ने एक महिलालाई प्रहरीले सकुशल उद्धार गरेको छ।
शनिबार दिउँसो तारा शाही नाम गरेकी एक महिला ‘हामफालेर मर्छु’ भन्दै पोलमाथि चढेकी थिइन्। उनी दुई वर्षदेखि प्रेम सम्बन्धमा थिइन्। तर, उनका प्रेमीले विवाह गर्न अस्वीकार गरेपछि उनी विगत एक महिनादेखि माइतीघरमा विरोध गर्दै आएकी थिइन्।
शनिबार, शाहीले झन्डा पोलमा चढेर हामफाल्ने प्रयास गरिन्। उनले माइतीघरमा राखिएको आफ्नो ब्यानर हराएको भन्दै पोलमाथि चढेकी थिइन्।
माइतीघरमा अन्य प्रदर्शनहरू पनि भइरहेकाले आसपासै रहेका प्रहरी तत्कालै घटनास्थलमा पुगेका थिए। प्रारम्भमा उनले झर्न अस्वीकार गरेकी थिइन्। महिला प्रहरीको सहयोगमा उनको उद्धार गरिएको थियो।
उनी पोलबाटै हामफाल्ने डरले उनलाई डोरीले बाँधेर सुरक्षित रूपमा तल झारिएको थियो। यसअघि पूर्व न्यायाधीश भुवन गिरीको श्रीमती आरती रावल पनि त्यही पोलमा चढेकी थिइन्। उनलाई पनि प्रहरीले सकुशल उद्धार गरेको थियो।











