March 25, 2026, Wednesday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

मुग्लिङ-नौबिसे सडकमा बेवारिसे सवारीको समस्या : जोखिम बढ्दो, समाधान सुस्त

चैत्र ११, २०८२

5

देशकै ब्यस्त ‘लाइफलाइन’ मानिने नागढुंगा-मुग्लिङ सडकखण्डमा लामो समयदेखि बेवारिसे अवस्थामा छोडिएका भारतीय नम्बर प्लेटका सवारीसाधनहरू बढ्दो समस्याका रूपमा देखिएका छन् । सडक किनार तथा कतिपय स्थानमा बीचमै थन्किएका यस्ता सवारीले दुर्घटनाको जोखिम बढाउनका साथै ट्राफिक व्यवस्थापनमा समेत असर पारिरहेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङ, गजुरीका कार्यालय प्रमुख शिशिर थापाका अनुसार अधिकांश यस्ता सवारी दुर्घटनामा परेका वा प्राविधिक रूपमा बिग्रिएका हुन्छन् । चालक वा सवारी धनीले गाडी छोडेर जाने र लामो समयसम्म पनि नलिने अवस्था देखिएको उल्लेख गर्दै उनले विशेषगरी साँघुरा घुम्ती तथा उकालो-ओरालो भएका क्षेत्रमा यस्ता सवारीका कारण आवतजावत जटिल बन्नुका साथै रातिको समयमा जोखिम अझै बढ्ने गरेको आंल्याए ।

कानुनी रूपमा मोटर गाडी ऐनले वेवारिसे सवारी जफत गर्ने वा कारबाही गर्ने व्यवस्था गरे पनि त्यसको कार्यान्वयन प्रभावकारी हुन सकेको छैन ।

सडक सुरक्षा विज्ञ डाक्टर पुष्प राज पन्त (बेलायत)ले बेवारिसे सवारी समयमै हटाउन नसक्नु व्यवस्थापन पक्षको कमजोरी भएको टिप्पणी गरेका छन् । प्रभावकारी अनुगमन, कडा कारबाही र सम्बन्धित निकायबीच समन्वय बिना समस्या समाधान हुन नसक्ने उनको भनाइ छ ।

सम्बन्धित निकायहरूले समस्या समाधानका लागि पहल भइरहेको दाबी गरे पनि सरोकारवालाहरूले अझै प्रभावकारी र तीव्र कदम आवश्यक रहेको बताएका छन् । अन्यथा, बेवारिसे सवारीकै कारण भविष्यमा ठूला दुर्घटनाको जोखिम बढिरहने देखिन्छ ।

भर्खरै