March 24, 2026, Tuesday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

आज र भोलि देशभर मौसमको चेतावनी : तीव्र वर्षा, हिमपात र हावाहुरीको उच्च जोखिम

चैत्र ६, २०८२

50

आज र भोलि देशका विभिन्न क्षेत्रमा ठूलो वर्षा, हिमपात तथा तीव्र हावाहुरीको सम्भावना रहेकाले सचेत रहन मौसमविद्हरूले आग्रह गरेका छन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसोपछि कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागमा ठूलो वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको छ। त्यस्तै दाङ, नेपालगञ्ज तथा लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको छ।

भोलिसम्म पूर्वी नेपालका विराटनगर, धनकुटा र धरान आसपासका क्षेत्रमा प्रतिघण्टा करिब ११९ किलोमिटरसम्मको गतिमा हुरी चल्न सक्ने चेतावनी दिइएको छ।

जलवायु विज्ञ उज्जवल उपाध्यायका अनुसार पश्चिमबाट वर्षा गराउने प्रणाली नेपाल प्रवेश गर्न लागेको छ, जसको प्रभावले दार्चुला, डडेल्धुरा र हुम्लालगायत उच्च पहाडी तथा हिमाली क्षेत्रमा मध्यम वर्षा तथा हिमपात गराउनेछ।

यस्तै बारा र रौतहटमा स्थानीय मौसमी प्रणालीका कारण साँझतिर हल्का वर्षा हुन सक्छ भने धादिङ, उत्तरी चितवन, तनहुँ र गोरखा आसपास क्षेत्रमा मध्यम वर्षा केन्द्रित हुने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा पनि साँझदेखि हल्कादेखि मध्यम वर्षा हुने र रातिसम्म जारी रहने सम्भावना छ।

रातिदेखि भोलि बिहानसम्म कर्णालीको तल्लो भू–भाग र लुम्बिनीको माथिल्लो क्षेत्रमा ४–५ घण्टासम्म वर्षा हुन सक्ने देखिएको छ। सुर्खेत, सल्यान र ढोरपाटन आसपास क्षेत्रमा अपेक्षाकृत बढी वर्षा भई नदीको सतह बढ्न सक्ने तथा साना पहिरो जाने जोखिम रहेको छ।

यसैबीच कपिलवस्तु र रुपन्देही क्षेत्रमा पनि केही घण्टा ठूलो पानी पर्ने सम्भावना छ। भोलि बिहानसम्म प्रणाली पूर्वतर्फ सर्ने र इलाम, धनकुटा, धरान तथा माथिल्लो झापा क्षेत्रमा पनि भारी वर्षा हुने अनुमान गरिएको छ।

हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना क्षतिग्रस्त हुने तथा विद्युत् र सञ्चार सेवा प्रभावित हुन सक्ने भएकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्राधिकरणले आवश्यक नभएसम्म यात्रा नगर्न, हावाहुरीका बेला सुरक्षित स्थानमा बस्न, गाडी सञ्चालन नगर्न र विद्युत् उपकरण प्रयोग नगर्न सुझाव दिएको छ।

हाल कोशी, कर्णाली र सुदूरपश्चिमका केही क्षेत्रमा हल्का वर्षा सुरु भइसकेको छ। प्रि–मनसुन अवधिमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहितको मौसम देखिन सक्ने भएकाले सबैलाई सतर्क रहन आग्रह गरिएको छ।

भर्खरै