March 26, 2026, Thursday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद

चैत्र ५, २०८२

40

जनकपुरधाम उपमहानगरपालिका–१४ धनुषाकी रुबी कुमारीलाई सानैमा बिहेका प्रस्ताव आउन थाल्यो । आफूलाई भन्दा उहाँका आमाबुबालाई छोरीको बिहे गरिदिन प्रस्ताव गर्दै आफन्त र गाउँलेले दबाब दिन्थे । रुबी सानै भए पनि विद्रोही स्वभावकी हुनुहुन्थ्यो । बालविवाह गरेर छोरीहरुले भोगेका पीडा उहाँले प्रत्यक्ष देख्नुभएको थियो ।

त्यसमा पनि चर्को दाइजो प्रथाको सिकार भएका परिवारको अवस्था देख्दा उहाँलाई छटपटी हुन्थ्यो । तर, समाज उस्तै छ । रुबी हुर्किँर्दै गर्दा बिहेका त्यस्ता प्रस्ताव धेरै आए । यद्यपि रुबीले आमाबुबा समक्ष आफ्नो अडान राखिरहनुभयो, “पहिले देशको सेवा गर्छु, अनि मात्र बिहे ।” धेरै पटकको प्रतिवादपछि रुबी बालविवाहबाट जोगिनुभयो । सिभिल इञ्जिनियरिङमा अध्ययनरत २५ वर्षिया रुबी हालै समानुपातिक तर्फ प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको छ ।

समानुपातिक तर्फ प्रमाणपत्र लिन आउनेमा मधेश प्रदेशकी इञ्जिनियरिङ अध्ययनरत विद्यार्थी रुबीसँगै, पूर्व मिस नेपाल अनुष्का श्रेष्ठदेखि नायिका रिमा विश्वकर्मा समेतको उपस्थिति थियो । समाजको पिँधमा परेका मुस्लिम समुदायका महिलाका अनुहार पनि सांसदका रुपमा देखिएका छन् । टाउकोमा रुमाल बेरेर काखीमा बच्चा च्यापेर समानुपातिक प्रतिनिधि सदस्यको प्रमाणपत्र बुझ्न आउनुभएकी चितवनकी समिना मियाँले भन्नुभयो, “मुस्लिम महिला लजालु स्वभावका छन्, उनीहरुलाई समाजको मूल प्रवाहमा ल्याउन शिक्षा र स्वास्थ्यमा जोड दिनु आवश्यक ठानेकी छु ।”

भरतपुर महानगरपालिका–१ की मियाँ रास्वपाको संस्थापक सदस्य हुनुहुन्छ । नर्सिङ पेसामा आबद्ध उहाँले रुपान्तरणका लागि राजनीतिक चेत आवश्यक भएकाले आफुले परिवार, पेसासँगै संसद्मा पुग्न जरुरी ठानेको बताउनुभयो ।

त्यसैगरी, नेपाली कम्युनिष्ट पार्टीबाट समानुपातिक प्रतिनिधि सदस्य हुनुभएकी दाङ, घोराहीकी ५० वर्षीया भीमकुमारी बुढामगर जनयुद्धकालदेखि राजनीतिक रुपमा सक्रिय हुनुहुन्थ्यो । उहाँ पहिलो पटक सांसद हुनुभएको हो । मगर पहिरनमा सजिएर प्रमाणपत्र बुझ्दै गर्दा उहाँले गणतन्त्र ल्याउनुमा जसरी आफूले योगदान दिएको हो त्यही ऊर्जा र उत्साह अझै कायम रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “युवाको बाहुल्यता छ, विश्वास छ राम्रै काम गर्छन् ।”

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को तर्फबाट समानुपातिक प्रतिनिधिसभा सदस्य हुनुभएकी पद्माकुमारी अर्यालले संसद्मा आफूले जनता र राष्ट्रयका पक्षमा हुने सरकारको कार्यको समर्थन गर्दै विपरीत कार्यको विरोध गर्ने बताउनुभयो । रास्वपाका समानुपातिक प्रतिनिधि सदस्य प्रकाशचन्द्र दर्जीले रास्वपाले घोषणा पत्रमा दलित समुदायमाथि राज्यले गरेको अन्यायको माफी माग्ने वाचा पूरा गर्ने बताउनुभयो ।

लामो समयदेखि दलित मुद्दाका विषयलाई लिएर आन्दोलन गरिरहनुभएका नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट समानुपातिक सांसद बन्नुभएका गणेश विश्वकर्माले संविधानमा उल्लेखित दलित अधिकारका कानुन निर्माणमा आफ्नो निरन्तर प्रयास हुने बताउनुभयो । रास्वपाका तर्फबाट समानुपातिक सांसद बन्नुभएकी सीता वादीले संसद्मा वादी समुदायको प्रतिनिधित्व गर्दै हुनुहुन्छ । “वादी समुदायको बास छैन, गाँस पनि छैन”, उहाँले भन्नुभयो, “संसद्मा वादीको आवाज सुनाउछु जस्ताको तस्तै र उनीहरुको जीवनस्तर उकास्ने प्रयास गर्नेछु ।”

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित ११० जना सांसदलाई आज प्रमाणपत्र वितरण गरिएको हो । निर्वाचन आयोगले केन्द्रीय कार्यालय बहादुर भवनमा आयोजना गरेको कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्तद्वय डा जानकीकुमारी तुलाधर र सगुनशमशेर जबराले टीका एवं फूलमालाले स्वागत गर्नुभएको थियो । रासस

भर्खरै