


धादिङको बेनिघाट रोराङ गाउँपालिका-५ चरौंदीनजिक भैंसेडाँडामा गत आइतबार राति भएको बस दुर्घटनामा १९ जनाको ज्यान गएपछि सरकार पुनः सक्रिय देखिएको छ । पोखराबाट काठमाडौं आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुबाहक बस दुर्घटनालगत्तै सहसचिव ऋषिराम तिवारीको नेतृत्वमा सात सदस्यीय छानबिन समिति गठन गरिएको छ । समिति घटनास्थल पुगेर अध्ययन सुरु गरिसकेको छ र एक साताभित्र प्रतिवेदन बुझाउने समयसीमा पाएको छ ।
यद्यपि ठूलो दुर्घटनापछि छानबिन समिति गठन हुनु नयाँ अभ्यास होइन । विगतमा पनि गम्भीर घटनापछि प्रतिवेदन तयार भए, सिफारिस प्रस्तुत भए, तर तिनको प्रभावकारी कार्यान्वयनबारे प्रश्न उठिरहेकै छन्। यसपटकको दुर्घटनालाई पनि धेरैले ‘फेरि दोहोरिएको कथा’का रूपमा हेर्न थालेका छन् ।
समितिमा नेपाल प्रहरीका एसएसपी भुवनेश्वर तिवारी, सशस्त्र प्रहरी बलका एसएसपी भरत खनिया, सडक विभागका सिडिई राकेश महर्जन, मन्त्रालयका उपसचिव वर्तराज पौडेल, यातायात व्यवस्था विभागका निर्देशक श्रीकान्त यादव तथा यातायात व्यवसायी राष्ट्रिय महासंघका कार्यवाहक अध्यक्ष सरोज सिटौला सदस्य छन्। टोलीले सडकको भौगोलिक अवस्था, सवारीको प्राविधिक परीक्षण, चालक व्यवस्थापन र सम्भावित मानवीय त्रुटिबारे अध्ययन गरिरहेको जनाएको छ।
विशेषज्ञहरूका अनुसार दुर्घटना न्यूनिकरणका लागि रात्री समयमा सवारी साधनको गति अनुगमन प्रणाली अनिवार्यजस्तै हुनुपर्ने अवस्था छ। घुमाउरो तथा उकालो–ओरालो सडकपछि आउने समतल र सोझा खण्डमा पनि गति नियन्त्रण र निगरानी कडाइका साथ लागू गर्नुपर्ने देखिन्छ।











