


काठमाडौं । जेन-जी युनाइटेडले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई पदबाट बर्खास्त गर्न माग गर्दै अर्थमन्त्री रामेश्वर खनाललाई ज्ञापनपत्र बुझाएको छ।
आइतबार बिहान अर्थमन्त्रालय पुगेर जेन-जी युनाइटेडका संयोजक जनक परियारले ज्ञापनपत्र बुझाएका हुन्। ज्ञापनपत्रमा नेपाल राष्ट्र बैंक ऐनको प्रावधानविपरीत तत्कालीन सरकारले स्वार्थ समूहको प्रभावमा परेर डा. पौडेललाई गभर्नर नियुक्त गरेको आरोप लगाइएको छ।
जेन-जी युनाइटेडका अनुसार सरकारद्वारा गठन गरिएको सिफारिस समितिले आफ्नो अधिकारको दुरुपयोग गर्दै ऐनले तोकेको मापदण्ड विपरीत डा. पौडेललाई सिफारिस गरेको हो। राष्ट्र बैंक ऐन २०५८ (प्रथम संशोधन २०६३) को दफा १५ अनुसार गभर्नर नियुक्तिका लागि आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य व्यवस्थापन वा वाणिज्य कानुन क्षेत्रमा ख्यातिप्राप्त व्यक्तिहरू वा डेपुटी गभर्नरहरूमध्येबाट तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नुपर्ने व्यवस्था छ। तर उक्त प्रावधानको उल्लंघन गर्दै पौडेललाई सिफारिस गरिएको जेन-जी युनाइटेडको दाबी छ।
संयोजक परियारका अनुसार डा. पौडेलको शैक्षिक योग्यता कम्प्युटर इन्जिनियरिङमा स्नातक र कृषि विषयमा स्नातकोत्तर रहेको भन्दै अनुभव र विशेषज्ञताको हिसाबले समेत उनको नियुक्ति राष्ट्र बैंक ऐनअनुसार नभएको उल्लेख गरिएको छ।
ज्ञापनपत्रमार्फत जेन-जी युनाइटेडले अर्थमन्त्रालयमा विचौलियाको चलखेल नियन्त्रण गर्न, बैंक तथा वित्तीय संस्थाहरूको मनपरी रोक्न, अनाधिकृत रूपमा असुल गरिएको ब्याज ऋणीलाई फिर्ता गराउन, नेपाल राष्ट्र बैंकका गभर्नरलाई बर्खास्त गरी ऐनअनुसार नयाँ गभर्नर नियुक्त गर्न माग गरेको छ।
त्यसैगरी राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धिकरण विभागलाई प्रभावकारी र जिम्मेवार बनाउनुपर्ने, वैदेशिक ऋणको दुरुपयोग रोक्नुपर्ने लगायतका मागसमेत ज्ञापनपत्रमा उल्लेख गरिएको छ।











