February 26, 2026, Thursday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

नेपालको राजनीतिक उतारचढाव, दलहरूको भूमिका र जेन–जी पुस्ताको आवाज स् अब नेपाल कुन बाटो हिँड्ने ?

मंसिर २७, २०८२

210

संवेग बस्नेत
नेपालको राजनीति कुनै शान्त नदीजस्तो कहिल्यै रहेन। यो त कहिले उर्लिएको भेल, कहिले सुक्दै गएको खोलाजस्तै बनिरह्यो। राणा शासनदेखि गणतन्त्रसम्म आइपुग्दा जनताले धेरै सपना देखे, धेरै त्याग गरे। तर प्रश्न उही छ — के हामीले चाहेको नेपाल बन्यो त ?

राजनीतिक उतारचढाव  परिवर्तन धेरै, परिणाम थोरै

२०४६ सालको जनआन्दोलनले बहुदलीय व्यवस्था ल्यायो। २०६२-६३ ले गणतन्त्र दियो। संविधान आयो, संघीयता आयो, समावेशिता लेखियो। कागजमा नेपाल निकै अगाडि देखिन्छ। तर व्यवहारमा राजनीति आज पनि सत्ता केन्द्रित, स्वार्थ केन्द्रित र अनुहार केन्द्रित नै छ।

सरकार फेरिन्छ, तर शैली फेरिँदैन। प्रधानमन्त्री बदलिन्छन्, तर नीति बदलिँदैन। जनताको समस्या उही बेरोजगारी, महँगी, शिक्षा र स्वास्थ्यको अभाव। राजनीतिक अस्थिरता अब दुर्घटना होइन, संरचनागत रोग जस्तै बनेको छ।

दलहरूको भूमिका स् सिद्धान्तभन्दा सत्ता प्यारो
नेपालका प्रमुख दलहरू कुनै समय परिवर्तनका संवाहक थिए। तर आज उनीहरू स्थिति जोगाउने क्लब जस्ता देखिन्छन्।

युवाको कुरा भाषणमा छ, नेतृत्वमा छैन

सुशासन घोषणामा छ, व्यवहारमा छैन

भ्रष्टाचार विरोध नारामा छ, गठबन्धनमा छैन

दलहरू जनतासँग होइन, आपसमा सत्ता बाँडफाँडमा व्यस्त छन्। चुनावपछि जनता भोट बैंक मात्र बन्छन्। राजनीतिक दलहरू विचार बेच्न छोडेर व्यक्ति र गुट बेच्न थालेका छन्।

जेन–जी पुस्ता स् निराश होइन, सचेत
यहीँनेर प्रवेश गर्छ जेन–जी पुस्ता।
यो पुस्ता ढुंगा बोकेर सडकमा ननिस्किएला, तर मोबाइल बोकेर प्रश्न गर्छ।
यो पुस्ता झोला बोकेर नेताको पछाडि नहिँड्ला, तर तथ्य बोकेर बहस गर्छ।

जेन–जीलाई राजनीति मन नपरेको होइन, पुरानो राजनीति मन नपरेको हो।
उनीहरू प्रश्न गर्छन् —

किन उही अनुहार ३०–४० वर्षदेखि सत्तामा ?

किन योग्य भन्दा नातेदार अगाडि ?

किन देशमा अवसर छैन तर भाषण धेरै ?

सोसल मिडिया, डिजिटल अभियान, स्वतन्त्र उम्मेदवारप्रतिको आकर्षण — यी सबै जेन–जीको राजनीतिक चेतनाको संकेत हुन्, उदासीनताको होइन।

अबको नेपालको बाटो स् सुधार, नविकरण र जवाफदेहिता
अब नेपालले तीनवटा ठूला मोड लिनैपर्छ

१. राजनीतिक नविकरण
नेतृत्वमा उमेर होइन, योग्यता मापन हुनुपर्छ। पार्टीभित्र आन्तरिक लोकतन्त्र अनिवार्य हुनुपर्छ। एउटै व्यक्ति आजीवन अध्यक्ष हुने परम्परा अन्त्य हुनुपर्छ।

२. जेन–जीको संस्थागत सहभागिता
केवल मतदान होइन, नीति निर्माणमा युवाको सहभागिता चाहिन्छ। स्थानीय तहदेखि संसदसम्म युवालाई कोटा होइन, अवसर दिनुपर्छ।

३. जवाफदेही शासन
भाषण होइन, परिणामको राजनीति।
घोषणा होइन, कार्यान्वयन।
नेता भगवान होइनन्, जवाफ दिनुपर्ने सेवक हुन् भन्ने संस्कार विकास गर्नुपर्छ।

अन्त्यमा
नेपाल अब प्रतीक्षामा बस्ने देश होइन।
अब प्रश्न गर्ने, दबाब दिने र विकल्प खोज्ने समय हो।
जेन–जी पुस्ता निराश भएर विदेश भाग्ने होइन,
सचेत भएर देशभित्रै परिवर्तनको आगो बाल्ने पुस्ता बन्नुपर्छ।

किनकि
देश बूढा नेताले मात्र बनाउँदैनन्,
सचेत युवाले बनाउँछन्।

भर्खरै