


राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणमा भइरहेको निरन्तर ढिलाइको विरोधमा धादिङ महोत्सवस्थलमै हस्ताक्षर अभियान सुरु गरिएको छ। धादिङ उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको दशौँ धादिङ महोत्सव–२०८२ मा छुट्टै स्टल राखी सरकारलाई तत्काल निर्णय गर्न दबाब दिने उद्देश्यले अभियान थालिएको हो।
अभियानको सुरुवात उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले हस्ताक्षर गर्दै गरेका हुन्। उनले सम्भाव्यता अध्ययन र मुआब्जा वितरणजस्ता महत्वपूर्ण काम सम्पन्न भइसके पनि आयोजना कागजमै सीमित रहनु गम्भीर लापरबाही भएको बताए।
करिब ३ खर्ब ३१ अर्ब रुपैयाँ लागत अनुमान गरिएको १२०० मेगावाट क्षमताको बूढीगण्डकी आयोजना ऊर्जा सुरक्षाका लागि अत्यन्तै आवश्यक भए पनि राजनीतिक अन्योल र निर्णयहीनताका कारण वर्षौँदेखि अलपत्र परेको छ।
स्थानीय उद्योगी, व्यवसायी र सरोकारवालाहरूले आयोजना ढिलाइले ऊर्जा आत्मनिर्भरता, रोजगारी र आर्थिक विकासमा नकारात्मक असर परेको बताएका छन्। हस्ताक्षर अभियानमार्फत जनस्तरबाट सरकारमाथि दबाब सिर्जना गर्ने उनीहरूको लक्ष्य छ।
अहिलेसम्म आयोजनाका लागि प्रभावित क्षेत्रमा ४५ अर्ब रुपैयाँभन्दा बढी मुआब्जा वितरण गरिसकिएको छ। साइड अफिस उद्घाटन भइसके पनि निर्माण कार्य अघि नबढेको भन्दै स्थानीय तहका जनप्रतिनिधिहरूले असन्तुष्टि जनाएका छन्।
धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार डल्लाकोटीले बूढीगण्डकी आयोजना धादिङ–गोरखामात्र नभई सिंगो देशको विकाससँग जोडिएको बहुउद्देश्यीय परियोजना भएको बताए।











