February 11, 2026, Wednesday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च, चाँदी घट्यो

मंसिर २८, २०८२

230

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। दुई महिनाअघिको रेकर्ड तोड्दै सुनको भाउ नयाँ उचाइमा पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि सुनको मूल्य प्रतितोला दुई लाख ५८ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ। यसअघि असोज ३१ गते प्रतितोला दुई लाख ५८ हजार रुपैयाँ पुगेर सुनले तत्कालीन रेकर्ड बनाएको थियो।

अघिल्लो कारोबार दिनको तुलनामा आइतबार सुनको भाउ दुई हजार २ सय रुपैयाँले बढेको हो। अघिल्लो दिन सुन प्रतितोला दुई लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्यले अझै नयाँ रेकर्ड तोड्न सकेको छैन। कात्तिक ३ गते (अक्टोबर २०) सुनको मूल्य प्रतिऔंस चार हजार ३५६ अमेरिकी डलर पुगेर उच्चतम रेकर्ड बनेको थियो। हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस चार हजार ३०० अमेरिकी डलर आसपासमा कारोबार भइरहेको छ।

महासंघका अनुसार तिहारको बिदाका कारण कात्तिक ४ देखि ८ गतेसम्म नेपालमा सुनको मूल्य समायोजन हुन सकेको थिएन। साथै अमेरिकी डलरको मूल्यवृद्धिका कारण अन्तर्राष्ट्रिय बजारको तुलनामा नेपाली बजारमा छिटो रेकर्ड तोडिएको महासंघको भनाइ छ।

यसैबीच चाँदीको मूल्य भने घटेको छ। अघिल्लो दिन प्रतितोला तीन हजार ९०५ रुपैयाँ पुगेर हालसम्मकै उच्च रेकर्ड बनाएको चाँदी आइतबार ८० रुपैयाँ घटेको हो। आज चाँदीको मूल्य प्रतितोला तीन हजार ८२५ रुपैयाँ कायम गरिएको छ।


भर्खरै