थाइल्याण्ड र कम्बोडियाबीच गत महिना सीमा क्षेत्रमा पाँच दिनसम्म चलेको घातक युद्धपछि भएको अस्थायी युद्धविराम सम्झौतालाई लम्ब्याउन बिहीबार (७ अगस्ट) सहमति भएको छ।
सीमावर्ती मन्दिरलाई लिएर लामो समयदेखि चलेको विवाद हिंसामा परिणत भएको थियो । साउन १३ गते मङ्गलबार अस्थायी शान्ति सम्झौता गर्नुअघि पाँच दिनसम्म चलेको युद्धमा कम्तीमा ४३ जनाको मृत्यु भएको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ मध्यस्थकर्ताको एक टोलीको आग्रहपछि आसियान अध्यक्ष मलेसियाली प्रधानमन्त्री अनवर इब्राहिमले युद्धविरामको मध्यस्थता गरेका थिए ।
उक्त सम्झौतामा अस्थायी युद्धविरामको लागि सहमति भएको थियो । प्रतिद्वन्द्वी क्षेत्रीय कमान्डरहरूको तीन दिनको वार्ता र छलफलपछि बैठकमा दुबै देशका रक्षा अधिकारीहरूले बिहीबार एक संयुक्त वक्तव्यमा हस्ताक्षर गरेका एक विज्ञप्तिमा जनाइएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘दुवै पक्ष सबै प्रकारका हतियारसहित युद्धविराम गर्न सहमत भएका छन्, जसमा नागरिक र गैर–सैनिक वस्तुमाथि आक्रमण नगर्ने सबै अवस्थामा र क्षेत्रमा दुवै पक्षको सैन्य उद्देश्य रहने छ। यो सम्झौता कुनै पनि हालतमा उल्लङ्घन हुनुहुँदैन ।’
थाइल्याण्ड र कम्बोडिया दुवैले युद्धविरामको पहिलो दिनमा एकअर्कालाई सम्झौता उल्लङ्घन गरेको आरोप लगाएका थिए । उनीहरूको साझा ८०० किलोमिटर (५०० माइल) सीमामा भएका झडपहरू चाँडै नै कम भएका थिए।
थाइल्याण्डका उपरक्षामन्त्री नाट्टाफोन नार्कफानित र कम्बोडियाका रक्षामन्त्री टि सेइहाद्वारा हस्ताक्षरित संयुक्त वक्तव्यमा सीमामा सैनिकको आवागमन र गस्तीमा रोक लगाउने सहमति भएको उल्लेख छ ।
‘हामी रक्तपात रोक्न विस्तृत युद्धविरामको व्यवस्थाका लागि यहाँ छौँ र दुवै पक्षका सैनिक र सर्वसाधारणले भोग्नुपरेको पीडालाई रोक्न चाहन्छौँ । यी कदमहरू जीवन रक्षाका उपायहरु हुन् जसले हाम्रा दुई देशबीच विश्वास, भरोसा र सामान्य स्थिति बहालीका लागि आधार तयार पार्ने छन्’- पत्रकार सम्मेलनमा टि सेइहाले भनेका छन् ।
वक्तव्यमा एक महिनाभित्र अर्को बैठक बस्ने र दुवै पक्ष तनाव कम गर्न गलत सूचना (फेक न्यूज) सम्प्रेषण नगर्न पनि सहमत भएको बताइएको छ ।
‘आजको हाम्रो छलफलले ठोस परिणाम हासिल गर्न दुवै पक्षले सहयोग र इमान्दारिता देखाउनु आवश्यक छ’, थाई उपरक्षामन्त्री नाथाफोनको भनाइ छ ।
पर्यवेक्षकका रुपमा सहभागी हुँदै यो सम्झौता दिगो शान्तिका लागि एक कदम मात्र भएको उल्लेख गर्दै मलेसियाका लागि अमेरिकी राजदूत एडगार्ड कागनले बिहीबारको बैठकपछि भनेका छन्, ‘हामी इमानदार हुनुपर्छ र भन्नुपर्छ कि त्यहाँ अझै पनि धेरै उच्च स्तरको अविश्वास र तनाव छ।’
सन् १९०७ मा कम्बोडियाका फ्रान्सेली औपनिवेशिक प्रशासकहरूले गरेको अस्पष्ट सीमाङ्कनका कारण यी मन्दिरहरूमा दुवै राष्ट्रहरूले दाबी गर्दै आएका छन्।
गत महिना भएको झडप यस क्षेत्रमा एक दशकयताकै सबैभन्दा घातक थियो र तीन लाखभन्दा बढी मानिस सीमाका दुवैतर्फका लडाकू इलाका छाड्न बाध्य भएका थिए ।





















