April 19, 2026, Sunday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

उच्च अदालत पाटनले दुर्गा प्रसाईलाई धरौटीमा रिहा गर्न आदेश

साउन १९, २०८२

255

उच्च अदालत पाटनले दुर्गा प्रसाईलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।

न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले जिल्ला अदालत काठमाडौँको यसअघिको आदेश उल्टाउँदै धरौटीमा रिहा गर्न आदेश दिएको हो।

जिल्ला अदालतले थुनामा राखी मुद्दाको बाँकी कारबाही गर्न आदेश दिएको थियो। उच्च अदालतले प्रसाईसहित चार अभियुक्तलाई उच्च अदालतले बाहिरै बसेर मुद्दाको प्रतिवाद गर्ने मौका दिएको हो।

तीनकुने घटनामा प्रसाईँसँग उच्च अदालतले ३ लाख मात्रै धरौटी माग गरेको छ।

उच्च अदालत पाटनले नै बैंकिङ कसुरसम्बन्धी अर्को मुद्दामा भने २५ लाख रुपैयाँ धरौटी माग गरेको छ। बैंकिङ कसुरमा उनीविरूद्ध १८ करोड ४४ लाख रूपैयाँ बिगो थियो। यो आदेश न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासले दिएको हो।

प्रसाईँविरूद्ध आइतबार मात्र उच्च अदालतमा बैंकिङ कसुरसम्बन्धी मुद्दा दायर भएको थियो।

उनी यस मुद्दामा निर्दोष हुन् भन्न नमिल्ने भए पनि क्यान्सर रोगी भएका कारण धरौटी राखेर थुनाबाहिरै रहेर मुद्दाको प्रतिवाद गर्न पाउने उच्च अदालतको आदेशमा उल्लेख छ।

  • अदालतले भन्यो- ४ कसुरमा दुर्गा प्रसाईंको संलग्नता देखिएन, आपराधिक उपद्रवमा देखियो

तीनकुने घटनाका अन्य अभियुक्तहरू सुशील बराल र तारा राजावादी भन्ने सरोज गौतमसँग उच्च अदालतले ५०-५० हजार रूपैयाँका दरले धरौटी माग गरिएको उच्च अदालतकी सूचना अधिकारी पार्वती हितानले  बताइन्।

उनका अनुसार, डण्डपाणि रेग्मीसँग १० हजार रूपैयाँ धरौटी माग भएको छ।

जेठ २९ गते दुर्गा प्रसाईंसहित ७ जनालाई जिल्ला अदालतले थुनामा पठाउन आदेश गरेको थियो।

उनीहरू हाल डिल्ली बजार कारागारमा छन्।

गत चैत १५ गते तीनकुनेमा राजावादीको प्रदर्शन हिंसात्मक भएपछि २ जनाको ज्यान जानुका साथै सार्वजनिक र निजी सम्पत्तिमा ठूलो क्षति पुगेको थियो।

त्यस घटनामा ३२ जनालाई भने जिल्ला अदालतले नै धरौटीमा रिहा गरेको थियो।

यस घटनामा विभिन्न कसुरमा ६५ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको थियो। प्रसाईँलाई लगाइएको मध्ये राज्यविरुद्धको कसुर, ज्यानसम्बन्धी कसुर, ज्यान मार्ने उद्योग र संगठित अपराधतर्फ कसुरदार नदेखिएको यसअघि  जिल्ला अदालतले भनेको थियो। आपराधिक उपद्रवमा संलग्नता देखिएको भन्दै थुनामा पठाउन आदेश दिएको थियो।

भर्खरै