आयोजक नेपाललाई सहजै पराजित गर्दै बंगलादेशले यू–२० साफ च्याम्पियनसिप फूटबलको उपाधि जितेको छ । ललितपुरस्थित एन्फा कम्प्लेक्सको मैदानमा बुधवार भएको खेलमा नेपाललाई सहजै ४–१ गोल अन्तरले पराजित गर्दै बंगलादेशले उपाधि उचालेको हो ।
पहिलो हाफको इन्जुरी समयमा १–० ले पछि परेको नेपालले दोस्रो हाफमा थप तीन गोल खान पुग्यो । एक गोल फर्काए पनि नेपालले आफ्नै भूमिमा बंगलादेशको अग्रपंक्तिलाई रोक्न नसकेको हो । बंगलादेशको लागि मिराजुल इस्लामले दुई गोल गरे । पियस नोभा र हुसेन राहुलले एक-एक गोल गरेका हुन् । बंगलादेशको दोस्रो हाफको ५६, ७१ र इन्जुरीको समयको पाँचौ मिनेटमा तीन गोल थपेको हो । नेपालका लागि समीर तामाङले ७९ औं मिनेटमा एक गोल फर्काएका थिए ।
पराजित भएसँगै यू–२० साफ च्याम्पियनसिपको तीनपटक उपाधि उचाल्ने नेपालको सपना धुमिल भएको छ । बंगलादेशले उमेर समूहमा जितेको यो पहिलो उपाधि हो । नेपालले भुटानलाई र बंगलादेशले भारतलाई ट्राइबेकरमा पराजित गर्दै फाइनलमा पुगेका थिए ।